काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले प्रचण्ड-नेपाल पक्षले पदको लागि पार्टी फुटाएको आरोप लगाएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओली पक्षको सुदूरपश्चिमस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्नेक्रममा भट्टले प्रचण्ड-नेपाल पक्षले पदको लागि पार्टी फुटाएको आरोप लगाएका हुन्। प्रचण्ड र नेपालले पदको लागि नै पार्टी फुटाएको उनको आरोप छ।
कोरोना महामारीको समयमा प्रचण्ड-नेपाल पक्षले जनताका लागि भन्दा पनि आफ्नो लागि मात्र सोचेर पार्टी विभाजन गरेको उनले आरोप लगाए। प्रचण्ड-नेपाल माइतीघरको सडक सम्म पदकै लागि पुगेको उनको बुझाई छ।
“उहाँहरू पदको लागि माइतीघरको सडकमा सम्म पुग्नुभएको छ। उहाँले कोरोनाका कालमा जनताको भन्दा पदको लागि मात्रै सोच्नुभयो।”,भट्टले भने।
यस्तै भट्टले प्रचण्ड जहिले पनि मुलुकमा महाविपत्ति ल्याउने व्यक्ति भएको पनि बताएका छन्। प्रचण्डमा वैचारिक विचलन देखिएको भन्दै उनले पार्टी केका लागि जुट्यो र फुट्यो भन्ने प्रश्न समेत गरे। ‘हामी यहाँ छौं’ भन्दै सडकमा गएका प्रचण्डलाई खोज्न जानु पर्ने अवस्था आउने उनको भनाई छ।
“प्रचण्डहरू हामी यहाँ छौं भनेर माइतीघर मण्डलको सडकमा जानुभएको छ। उहाँहरू देशका कहाँकहाँ कुनाकाप्चामा हुनुहुन्छ खोज्न जानुपर्नेछ।”,उनले भने।
ओली विरुद्ध एक हुन पूर्वमाओवादीहरुलाई प्रचण्डले आह्वान गरेको प्रति पनि भट्टले टिप्पणी गरेका छन्। अब पूर्वएमाले र पूर्वमाओवादी भन्ने समय नरहेको उनको भनाई छ।
“प्रचण्ड भन्दै हुनुहुन्छ माओवादी एक ठाउँमा हुनुपर्छ। त्यसो भए माधव नेपाललाई यहाँ पठाइदिनुपर्यो। एमाले र माओवादी इतिहास भइसक्यो।”,उनले भने।