संसद विघटन बारे बोले सभामुख, ओलीसँग संसद विघटनको अधिकार नै नभएको गरे दावी !

काठमाडौँ – प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग संसद विघटन गर्ने अधिकार नै नभएको दावी गरेका छन्।

बिहिबार विभिन्न चार राजनीतिक दलसँग आबद्ध महिला संगठन तथा सांसदहरूको ध्यानाकर्षण पत्र बुझ्दै सभामुख सापकोटाले संसद विघटन गर्ने अधिकार प्रधानमन्त्रीसँग नभएको दावी गरेका हुन्।

नेकपाको प्रचण्ड–नेपाल समूहको अनेमसंघ, नेपाली कांग्रेस सम्बद्ध अखिल नेपाल महिला संघ, जनता समाजवादी सम्बद्ध समाजवादी महिला संघ र विवेकशिल साझा पार्टी सम्बद्ध विवेकशील साझा महिलाका सांसदहरुको ध्यानाकर्षण पत्र बुझ्दै सभामुख सापकोटाले संविधानले हालको परिस्थितिमा प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकार नदिएको बताए।

“हाम्रो संविधानले यही परिस्थितिमा प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार दिएको छैन । मैले आफ्नो धारणा पहिले नै सार्वजनिक गरिसकेको छु र म अदालतमा पनि त्यहीअनुसारको प्रतिउत्तर दिँदै छु ।”,उनले भने।

सापकोटाले प्रधानमन्त्रीको कदम बारे र संविधानको रक्षाका लागि सम्बद्ध पक्षसँग वृहत, व्यापक परामर्श गरिरहेको पनि बताएका छन्। संविधानको रक्षा र देश र जनताको अधिकतम हितमा आफूसँधै समर्पित रहने प्रतिवद्धता सभामुखको छ।

“समग्र परिस्थितिमा मैले कसरी भूमिका खेल्न सक्छु, जनताको अधिकतम हितका लागि के भूमिका खेल्नुपर्छ भनेर मैले राष्ट्रका सम्बद्ध पक्षसँग वृहत, व्यापक परामर्श राय सल्लाह सुझाव लिइरहेको”,सभामुखले भने।

तस्विरमा: नेकपाको प्रचण्ड–नेपाल समूहको अनेमसंघ, नेपाली कांग्रेस सम्बद्ध अखिल नेपाल महिला संघ, जनता समाजवादी सम्बद्ध समाजवादी महिला संघ र विवेकशिल साझा पार्टी सम्बद्ध विवेकशील साझा महिलाले बुझाएको ज्ञापनपत्र

प्रकाशित : बिहिबार, पुष १६, २०७७१४:३९

भारतमा पनि भेटिन थाले कोभिडका नयाँ सङ्क्रमित !