काठमाडौं । नेपाललाई समेत अनुकूल मानिएको कोभिसिल्ड खोपको आपतकालिन प्रयोगका लागि भारत सरकारले अनुमति दिएको छ । कोभिड–१९ विरुद्धको अक्सफोर्ड–एस्ट्राजेनेकाको सो खोपलाई भारतको केन्द्रीय औषधि मापन नियन्त्रण संगठन (सीडीएससीओ)को विशेषज्ञको कमिटीले शुक्रबार अनुमति प्रदान गरेको हो । भारतमा पनि उत्पादन हुने भएकाले यो खोप नेपाल ल्याउन अनुकूल हुने देखिएको छ । अन्य खोपभन्दा सस्तो समेत देखिएको र भण्डारणमा पनि पहुच भित्रै हुने भएकाले नेपाललाई पनि सुखद खबर बनेको छ । नेपालको पूर्वाधार र संरचनाअनुकूल २ देखि ८ डिग्री सेल्सियसमा भण्डारण गर्न सकिने ‘एजेडडी १२२२’ खोप भारतमा कोभिसिल्डको नामबाट विश्वकै सबैभन्दा ठूलो खोप निर्माता कम्पनी सिरम इन्स्टिच्युट अफ इन्डिया (एसआईआई) ले पनि उत्पादन गरिरहेको छ । नेपालले अन्य खोप पनि सिरमबाट ल्याउने गरेको छ । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।
बेलायतको मेडिसिन एन्ड हेल्थ केयर प्रोडक्टस् रेगुलेटरी एजेन्सी (एमएचआरए) ले बुधबार नै यो खोपलाई स्वीकृत गरिसकेको छ । भारतमा आपतकालिन प्रयोगको अनुमति पाएसँगै सरकारले खोप दिने कार्यक्रम बनाउने बताइएको छ । योसँगै नेपालमा पनि यो खोपको आपतकालिन प्रयोगमा ल्याउन सक्ने बाटो खुलेको बताइएको छ । भारत र नेपालमा कोरोना भाइरसको प्रकार उस्तै उस्तै देखिएकाले पनि त्यहा राम्रो प्रतिफल दिएमा नेपालमा पनि प्रयोग गर्न सकिने विज्ञहरुको भनाई छ ।
भारतको विश्वविख्यात खोप निर्माता सीरम इन्स्टिच्यूटले उत्पादन गरिरहेको अक्सफर्डको खोप हालै अमेरिकामा अनुमतिप्राप्त खोपहरूभन्दा निकै धेरै सस्तो मात्र होइन नेपालजस्ता देशका निम्ति आपूर्ति र भण्डारण गर्न सकिने प्रकृतिको पनि छ । अमेरिकी खोप फाइजर २०–३० डलर पर्ने तुलनामा उक्त खोपको एक मात्रा तीन डलरजतिमा आउने अपेक्षा छ । साथै सामान्य चिसो तापक्रममा पनि यो भण्डार गर्न सकिन्छ । अर्थात् नेपालले साविकका अरू रोगका खोपहरू जसरी राख्ने व्यवस्था मिलाइरहेको छ त्यसैबाट काम लिन सकिन्छ । त्यसैले उक्त खोप सकेसम्म चाँडो ल्याउने प्रयास भइरहेको कोभिड–१९ खोपविज्ञ समूहका संयोजक डा. श्यामराज उप्रेतीले बताए ।
सरकारले खोप खरिदका लागि ४२ अर्ब रुपैयाँ छुट्टाएको बताइसकेको छ । सो खोप खरिदका लागि सरकारले दुई विकल्प अगाडी सारेर गृहकार्य गरिरहेको छ । भारत सरकारले खोप खरिद गर्दा नेपालको भागको पनि खरिद गर्ने र त्यसको भुक्तानी अहिले दिने, त्यो प्रयास असफल भए सिधै सिरम कम्पनीसँग खरिद गर्ने गरी गृहकार्य भईरहेको डा. उप्रेतीले जानकारी दिए । प्रक्रिया अगाडी बढाइएपनि उताबाट स्पष्ट जवाफ नआएको उनको भनाई छ ।
सिरमले अहिलेसम्म करिव ५ करोड खोप उत्पादन गरिसकेको बताइएको छ । सन् २०२१ को जुलाईसम्म ३० करोड डोज उत्पादन गर्ने सीरमका सिइओ अदार पुनावालाले जानकारी दिए । उनका अनुसार सो डोजमध्ये भारत र कोम्याक्स देशका लागि ५० प्रतिशत उपलब्ध गराउनेछ । उसले कुन देशसँग कति डोजको सम्झौता गरेको भनेर खुलि नसकेका कारण सिधै खरिद गर्दा कति समय लाग्छ भन्ने यकिन हुन सकेको छैन । त्यसैले भारत सरकारलाई नै रकम दिएर उसले खरिद गरेका बेला २० प्रतिशत जनसंख्यालाई पुग्नेगरी खरिद गर्ने प्रयास पनि भईरहेको हो ।
यसैबीच, विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बिहीबार फाइजर–बायोएनटेकले विकास गरेको कोभिड–१९ विरुद्धको खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ । संगठनले खोप स्वीकृत गरेसँगै विश्वका विभिन्न देशले फाइजरका खोप आयात र वितरण गर्न थप सहज बनाएको छ । बेलायतले गत डिसेम्बर ८ मै फाइजरको खोपलाई अनुमति सहित आमजनतालाई खोप दिन थालिसकेको छ । साथै यी खोप अमेरिका, क्यानाडा र युरोपेली संघमा आबद्ध मुलुक सहित अन्य कतिपय मुलुकले प्रयोगमा ल्याएका छन् ।
कोरोनाभाइरस विरुद्ध आपतकालीन प्रयोगका लागि डब्लुएचओबाट खोप स्वीकृत प्राप्त गर्ने फाइजर पहिलो कम्पनी हो । डब्लुएचओका वरिष्ट अधिकृत म्यारिएन्जेला सिमाओले फाइजरको खोपले अनुमति प्राप्त गर्नु निकै सकारात्मक कदम भएको र यसबाट विश्वका अन्य मुलुकले पनि यस खोपमा सहज पहुँच हासिल गर्ने विश्वास व्यक्त गरे ।
डब्लुएचओका अनुसार युनिसेफ जस्ता मानवीय सहायता निकायहरुले फाइजरका खोप खरिद गरेर अति जरुरी परेका मुलुकमा आपूर्ति गर्न पनि यसले बाटो खोलेको छ । फाइजर–बायोएनटेकले विकास गरेको खोपको सुरक्षा, प्रभावकारिता र गुणस्तर जाँच गर्न डब्लुएचओले विश्वभरबाट तथ्याँक संकलन गरी विश्लेषण गरेको थियो । विज्ञहरुको टोलीले गरेको अध्ययनमा कोभिड–१९ बाट सिर्जना हुने जोखिम न्यून गर्न फाइजरका खोप निकै प्रभावकारी देखिएको डब्लुएचओले जनाएको छ ।