नेकपा आधिकारिकता र चुनाव चिह्न विवाद: निर्वाचन आयोगले माग्यो थप कागजात !

काठमाडौं । सत्तारूढ दल नेकपाको आधिकारिकता र निर्वाचन चिह्नको विषय निर्वाचन आयोगमा पुगे पनि आयोगले त्यस सम्बन्धमा कुनै छानबिन थालेको छैन । आयोगले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले पेस गरेको कागजातमा केही अपुग भएको भन्दै थप कागजात माग गरेको छ । यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ।

सत्तारूढ दल नेकपा दुई समूहमा विभाजन भएपछि दुईमध्ये कुन पक्ष आधिकारिक हुने र चुनाव चिह्न कसले पाउने भन्ने बारेमा बहस र विवाद भइरहेको छ । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली समूहले आफूहरू नै आधिकारिक पार्टी भएको र चुनाव चिह्न सूर्य आफूहरूकै हुने दाबी गर्दै आइरहेको छ । अर्का अध्यक्ष प्रचण्ड र माधव नेपाल समूहले पनि आफूहरू नै आधिकारिक पार्टी भएकाले सूर्य चिह्न आफूहरूले नै पाउनुपर्ने दाबी गर्दै आइरहेका छन् ।

निर्वाचन आयोगले भने आवश्यक कागजातको अभावमा यससम्बन्धी छानबिन अघि नबढाइएको प्रस्ट पारेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आवश्यक कागजातको अभावमा पार्टी आधिकारिता र निर्वाचन चिह्नबारे छानबिन अघि बढाउन नसकिएको बताए ।

नेकपाका प्रचण्ड र नेपाल समूहले आधिकारिता र चुनाव चिह्नको दाबी गर्दै पत्र दर्ता गरे पनि केही कागजात अपुग भएकाले त्यस सम्बन्धमा अध्ययन नथालिएको प्रमुख निर्वाचन आयुक्त थपलियाले जानकारी दिए । ‘उहाँहरूको पत्र दर्ता भए पनि कागजातमा केही अंग नपुगेकाले अंग पु-याएर ल्याउनू भनेका छौं,’ प्रमुख निर्वाचन आयुक्त थपलियाले राजधानीसँग भने ।

प्रकाशित : शनिबार, पुष १८, २०७७०८:३८

प्रधानमन्त्री ओलीले एकै भाषणमा बोले यति धेरै झुठ !