काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ओली पक्षका महासचिव विष्णु पौडेलले अब नेकपालाई विभाजनबाट कसैले पनि रोक्न नसक्ने बताएका छन्।
शनिबार नेकपा बागमति प्रदेश सम्पर्क कमिटीद्वारा आयोजित आम कार्यकर्ता भेलालाई सम्बोधन गर्नेक्रममा नेकपा विभाजनको दिशामा गइसकेको र विभाजनलाई कसैले पनि रोक्न नसकने बताएका हुन्।
अर्थमन्त्री समेत रहेका पौडेलले प्रचण्ड र माधव नेपाल नै पार्टी विभाजन गर्न लागि परेको आरोप लगाउँदै पार्टी विभाजनलाई केहि गरी पनि रोक्न नसकिने बताए।
पार्टीकै नेताहरुले सरकार र पार्टीका अध्यक्ष केपी शर्मा ओली विरुद्ध गरेको घेरावन्दीले अहिलेको अवस्था आएको उनको भनाई छ। सरकारलाई पार्टी भित्रैबाट ठूलो असहयोग भएको उनले बताए।
संविधानअनुसार लोकतन्त्रमा प्रधानमन्त्रीले मध्यावधि चुनावमा जाने गरेको निर्णय उचित भएकाले अब कसैले पनि रोक्न नसक्ने पनि उनले दावी गरे। आफ्नै पार्टीको घेराबन्दी र असहयोगका कारण प्रतिनिधिसभा विघटन गर्नुपरेको उनको तर्क छ।
यस्तै नेता पौडेलले सरकारले गरेका लोकप्रिय कार्यहरु देख्न नसकेरै घेरावन्दी गरिएको पनि बताएका छन्। सरकारको लोकप्रिय काम पार्टीकै नेताहरूलाई अपच भएपछि जनतामा जाने गरी प्रतिनिधिसभा विघटन गरिएको उनले बताए।
संविधानअनुसार लोकतन्त्रमा प्रधानमन्त्रीले मध्यावधि चुनावमा जाने निर्णय भएको उनको दावी छ। नेकपाका अर्का अध्यक्ष प्रचण्डले पार्टीको सचिवालय बैठकमा पेस गरेका ‘आरोपपत्र’ नै पार्टी विभाजनको मुख्य कारण रहेको उनले स्पष्ट पारे।