एजेन्सी – क्रिसमस विश्रामपछि मध्यसाता ला लिगामा इएवरविरुद्धको खेलमा चोट कारण कप्तान लिओनल मेस्सीलाई आराम दिएको थियो । आइतबार हुएस्काविरुद्ध हने खेलमा भने मेस्सी खेल्ने सम्भावना देखिएको छ ।

मेस्सी बार्सिलोनाको प्रशिक्षणमा फर्केबाट पनि उनी खेल्ने आशा गरिएको छ ।गोलीगाँठाको समान्य चोटका कारण इएवरविरुद्धको खेलमा उनलाई आराम दिएको थियो । शुक्रबार भने उनी टोलीका अन्य सदस्यसँगै अभ्यासमा सामेल भएका थिए ।

जारी सिजनमा बार्सिलोनाको प्रदर्शन मिश्रित खालको रहेको छ । गत सिजन उपाधि विहिन रहेको बार्सिलोनाले सन् २०२१ को सुरुवात जितबाट गर्ने प्रयास गर्नेछ । डिसेम्बर २२ मा रियल भालाडोडिडविरुद्धको खेलपछि मेस्सी मैदान उत्रेका छैनन् । त्यो खेलपछि उनी क्रिसमसको विदा मनाउन परिवारका अर्जेन्टिना गएका थिए ।

१५ खेलपछि २४ अंकका साथ बार्सिलोना अंक तालिकाको छैटौं स्थानमा छ । जबकी एक खेल कम खेलेको एट्लेटिको म्याड्रिड ३५ अंकका साथ शीर्षस्थानमा छ । १६ खेल खेलेको साविक विजेता रियल म्याड्रिडको ३३ अंक जोड्दै दोस्रो स्थानमा छ ।
काउटिन्होको शल्यक्रिया

यसैबीच इएवरविरुद्धको खेलमा बायाँ घुँडामा चोट लागेपछि फिलिप्पे काउटिन्होको शल्यक्रिया गर्नुपर्ने भएको छ । शनिबार उनको घुँडाको शल्यक्रिया हुने बताइएको छ । त्यसपछि मात्रै उनी कति समय मैदान बाहिर रहने अनुमान गर्न सकिने बताइएको छ ।

