काठमाडौँ – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझीले आफ्नो योजनाका कारण नेपालबाट लोडसेडिङ हटेको दावी गरेका छन्। गृहजिल्ला अर्घाखाँची पुगेका बेला रायमाझीले आफ्नो योजनाका कारण नेपालबाट लोडसेडिङ हटेको दावी गरेका हुन्।
मन्त्री रायमाझीको गृहजिल्ला अर्घाखाँचीको सन्धिखर्कमा प्रेस संगठन नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्ने क्रममा मन्त्री रायमाझीले आफूले ल्याएको योजनाका कारण ऊर्जा क्षेत्रमा देशले ठूलो फड्को बताए।
कुलमान घिसिङलाई पनि आफूले नै विद्यत प्राधिकरणमा ल्याएको दावी उनले गरे। कुलमान घिसिङलाई पनि आफूले नै विद्यत प्राधिकरणमा ल्याउन गृहकार्य गरेको र नियुक्ति पत्रमा सही मात्रै गर्न नभ्याएको उनले बताए।
“कुलमानजीलाई मैले ल्याएर ठिक्क पारेको हुँ, उनले भने,‘मैले सही गर्न पाइन, जनार्दनजीले कागजमा सही मात्र गर्नुभएको हो।”,मन्त्री रायमाझीले भने।
२०७२ सालमा आफू उर्जामन्त्री भएको बेला थुप्रै प्रयासहरु गरेका कारण त्यसको नतिजा अहिले देखिएको उनले दावी गरे। आफू मन्त्री हुँदा १२देखि १८ घण्टासम्म लोडसेडिङ भएपश्चात मास्टर प्लान बनाएको र सोहि अनुसार लोडसेडिङ अन्त्य भएको उनको दावी छ।
“ऊर्जा मन्त्रालय र विद्युत प्राधिकरणका प्राविधिकहरुलाई सोध्दा हुन्छ, ९९ बुँदे मास्टर प्लान कसले बनायो ? ढल्केबर-मुजाफरपुर, ढल्बेबर-हेटौंडा, ढल्केबर-खिम्ती प्रसाणलाइन कसले बनायो ?”,उनले भने।
यस्तै रायमाझीले उर्जा क्षेत्रमा नेपालले ठूलो फड्को मारिसकेको बताएका छ्न्। थुप्रै जलविद्युत आयोजनाहरु सम्पन्न हुने चरणमा रहेको भन्दै उनले ट्रान्समिटर लाईन नहुँदा विद्युत खेर जाने अवस्थामा रहेको उनले बताए।