“रोनाल्डो गोल मात्रै गर्छन्, तर मेस्सी पूरै टिम उत्कृष्ट बनाउँछन्”

पूर्व रियल म्याड्रिड खेलाडी एन्टोनियो कासानोले मेस्सी भर्सेस रोनाल्डो विवादमा बोल्दै रोनाल्डोलाई ‘निर्मित प्रतिभा’ भनेका छन्। एएस डायरीले दिएको टिप्पणीमा उनले रोनाल्डोलाई मिहेनतको नतिजा र मेस्सीलाई प्राकृतिक प्रतिभाको रूपमा हेरेका छन्।

२०१७ मा खेलजीवनबाट सन्यास लिएका कासानोका अनुसार रोनाल्डो निर्मित हुन् भने मेस्सी अबको सयौं वर्षसम्म देखा नपर्ने प्रतिभा रहेको उनले बताए। उनले मेस्सीलाई अबको फेरी देखा नपर्ने प्रतिभा रहेको भन्दै रोजर फेडरर, माइकल जोर्डन र डिएगो माराडोना जस्ता व्यक्तित्वहरूसँग तुला गरे।

“क्रिस्टियानो रोनाल्डो एक निर्मित प्रतिभा हो,” क्यासानोले भने। “सामाजिक संजालमा देख्न सकिन्छ रोनाल्डोको मिहेनत। रोनाल्डोको बारेमा धेरै चर्चा हुन्छ, मेस्सीको बारेमा कम। तर फुटबलमा यी दुई भिन्न खेलाडी हुन्। रोनाल्डो धेरै बलियो छन् तर उनले आफ्नो प्रतिभा निर्माण गरे।”

“अर्कोतर्फ, मेस्सी फेडरर, जोर्डन, माराडोना हो। उनी यस्ता प्रतिभा हुन् जुन हामीले फेरी देख्न पाउँदैनौ। उनीमा असीम प्रतिभा छ जुन प्रकृतिको उपहार हो। म प्रायः सुन्छु कि मेस्सी बार्सिलोनामा उत्कृष्ट खेलाडीसँग खेले। मलाई जाभी र इनिएस्टा र सुरुमा रोनाल्डिन्हो याद छ। तर मेस्सीले पेड्रो, डानि एल्भेज, [जावी] मास्केरानो र अन्य च्याम्पियन जस्ता खेलाडीहरू पनि बनाए,” कासानोले भने।

मेस्सीले सधैं आफ्नो प्रतिभासँगै धेरै खेलाडी बनाएको तर रोनाल्डोको सोच भने सधैं गोल मात्र रहेको पनि बताए। उनले भने,”मेस्सीले आफ्नो प्रतिभाक कारण धेरै खेलाडीलाई च्याम्पियन खेलाडी बनाए। तर रोनाल्डोको लक्ष्य गोल गर्नु हो, उनले टोलीको बारेमा वास्ता गर्दैनन् न त असिस्ट नै गर्छन्। मेस्सी, अर्कोतर्फ, पूरै टिमलाई राम्रो बनाउँछन्, उनी मेरो आइडल हुन्। “

कासानोले रियल म्याड्रिडमा आफ्नो खेल जीवनको दुई वर्ष बिताए। २००७ मा रियल म्याड्रिडले लालिगा उपाधि जित्दा कासानो पनि उक्त टोलीका सदस्य थिए।

प्रकाशित : सोमबार, पुष २०, २०७७११:४४

क्रिस्टियानो रोनाल्डो मेस्सी, पेले, म्याराडोना भन्दा उत्कृष्ट ?