पूर्व रियल म्याड्रिड स्टार क्रिस्टियानो रोनाल्डोले गयराती भएको खेलमा उडीनेसे विरुद्धको खेलमा गरेको गोलसँगै ब्राजिलियन दिग्गज पेलेको रेकर्ड तोडेका छन्। उडीनेसेविरुद्धको खेलमा २ गोल गरेका रोनाल्डोले अब आफ्नो खेल जीवनमा ७५८ गोल गरिसकेका छन्।
पोर्चुगिज कप्तान अब सबैभन्दा बढी गोल गर्ने खेलाडीको सूचीमा पेलेलाई पछाडी पार्दै दोस्रो स्थानमा पुगेका छन्। मुन्डो डिपोर्टिभोको रिपोर्ट अनुसार अब चेक गणतन्त्रका पूर्व महान् खेलाडी जोसेफ बिकान मात्र रोनाल्डो भन्दा अगाडी छन्।
मुन्डो डिपोर्टिभो अनुसार बिकानले आफ्नो खेल जीवनमा ७५९ गोल गरेका छन्। १९३१ देखि १९५५ सम्मको लामो खेल जीवनमा उनले ७५९ गोल गरेका हुन्, जुन रेकर्ड रोनाल्डोले आउँदो केहि खेलमा नै तोड्ने निश्चित छ।
रोनाल्डोका चिर-प्रतिद्वन्द्वी लियोनल मेस्सीले रोनाल्डोको यो रेकर्डलाई चुनौती दिन सक्छन्। मेस्सीले २०२० को अन्त्यमा पेलेको एक क्लबका लागि सबैभन्दा धेरै गोल गर्ने रेकर्ड तोडिसकेका छन्, बार्सिलोनाका लागि मेस्सीले ६४४ गोल गरिसकेका छन्।
मेस्सीले आफ्नो खेल जीवनमा क्लब र राष्ट्रको लागि गरेर कुल ७१५ गोल गरेका छन्। रोनाल्डो भन्दा २ वर्ष कम उमेरका मेस्सीले सन्यास लिनु अघि रोनाल्डोको रेकर्डलाई चुनौती दिने आशा राख्न सकिन्छ।