ओली माथि झाँक्रीको प्रहार – “कमेडीले देश चल्दैन”

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओली माथि कडा प्रहार गरेकी छन्।

चितवनको भरतपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा नेतृ झाँक्रीले देश कमेडीले चल्दैन भन्दै प्रधानमन्त्री ओलीको चर्को आलोचना गरेकी हुन्।

सोमबार चितवनको भरतपुरमा आयोजित प्रचण्ड–नेपाल समूहको नगरस्तरीय अगुवा पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गर्दै झाँक्रीले देश कमेडीले नभई सोचले बन्ने बताइन्।

“प्रधानमन्त्रीले कमेडी गरिरहनु भएको छ, देश कमेडीले बन्ने होइन सोचले बन्ने हो। देश बनाउन भ्रष्ट नहुने चरित्र चाहिन्छ । सबै स्रोत कब्जा गर्ने भ्रष्ट चरित्रले देश बन्दैन ।”,उनले भनिन्।

प्रधानमन्त्री ओली विरुद्ध कडा रुपमा प्रस्तुत भएकी झाँक्रीले भ्रष्टाचारमा मुछिएकालाई काखी च्याप्ने प्रधानमन्त्रीले भ्रष्टाचार हुन नदिने भन्नु हाँस्यास्पद हुने बताइन्।

पूर्व संचारमन्त्री गोकुल बाँस्कोटालाई ओलीले काखी च्याएको विषयलाई लक्षित गर्दै भनिन,”सत्तरी करोडको डिल भएको अडियो सार्वजनिक भएर भ्रष्टाचारमा मुछिएकालाई काखी च्याप्ने प्रधानमन्त्रीले भ्रष्टाचार हुन नदिने भन्नु हाँस्यास्पद हो”

यस्तै झाँक्रीले बाँचुन्जेल शक्तिमा रहन प्रधानमन्त्री ओलीले संसद विघटन गरेको पनि आरोप लगाएकी छन्। संविधानले अधिकारै नदिएको अवस्थामा ओलीले राजनीतिक अपराध गरेको उनको आरोप छ।

“संसद विघटन जघन्य राजनीतिक अपराध हो । संविधानले यो अधिकारै दिँदैन । संसद विघटन राजनीतिक प्रश्न हो, सडकबाटै यसको छिनोफानो हुनेछ । संसद विघटन संवैधानिक प्रश्न होइन, कानुनी प्रश्न हो । सर्वोच्चको फूल बेन्चमा यसलाई हेर्नु पर्छ ।”,उनले भनिन्।

प्रकाशित : सोमबार, पुष २०, २०७७१६:५५

मन्त्री पद त्यागेकी बिना मगरको आरोप – “ओलीलाई पदको बाहेक केहिको चिन्ता छैन”