मन्त्री पद त्यागेकी बिना मगरको आरोप – “ओलीलाई पदको बाहेक केहिको चिन्ता छैन”

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड-नेपाल पक्षकी नेतृ बिना मगरले पदकै लागि प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको आरोप लगाएकी छन्।

नेपाल कम्युनिस्ट पार्टी बेलौरी नगरकमिटीद्वारा आयोजित नगर कमिटी भेलालाई सम्बोधन गर्नेक्रममा मगरले पद लोलुपताकै कारण ओलीले संसद विघटन गरेको आरोप लगाएकी हुन्।

निवर्तमान खानेपानी मन्त्री समेत रहेकी मगरले प्रधानमन्त्रीलाई देश र जनताको चिन्ता नरहेको बताइन्। ओलीलाई मुलुकको भन्दा पनि पदको चिन्ता रहेको उनको आरोप छ।

“प्रधानमन्त्रीलाई देश र जनताको चिन्ता छैन । मुलुकको विकासको बारेमा उहाँलाई कत्ति पनि चिन्ता रहेनछ । मात्र उहाँलाई पदको चिन्ता रहेछ ।”,उनले भनिन्।

मगरले संसद विघटन असंवैधानिक रहेको पनि बताएकी छन्। ओलीको तानाशाही प्रवृत्तिलाई जनताले चाँडै परास्त गर्ने बताउँदै उनले ओलीका आसेपासेहरुको भविष्य धेरै नरहेको दावी गरिन्।

“जनतामाथि कुठाराघात गर्दै प्रधानमन्त्रीले असंवैधानिक तवरले संसद विघटन गराउनुभयो । यस्तो तानाशाही प्रवृत्तिलाई जनताले चाँडै परास्त गर्नेछन् । प्रधानमन्त्री र उहाँका आसेपासेहरुको भविष्य अब धेरै लामो समय छैन ।”,उनले भनिन्।

यस्तै ओलीका नजिकका मान्छेहरुले संघीयता खारेज गर्नपर्यो भन्दै वकालत गर्नेगरेको भन्दै मगरले आपत्ति पनि जनाएकी छन्। जनताको त्याग र बलिदानबाट प्राप्त भएको उपलब्धिहरुलाई कुल्चने ओलीको प्रयासलाई जनताले असफल पार्ने उनको भनाई छ।

उनले भनिन्,”मैले सुन्ने गरेको छु प्रधानमन्त्रीका नजिकका मान्छेहरुले संघीयता खारेज गर्नुप-यो भनेर वकालत गरिरहेका छन् । जनताको त्याग र बलिदानबाट प्राप्त भएको उपलब्धिहरुलाई प्रधानमन्त्रीका मान्छेहरुले कुल्चने दुस्साहस गर्दैछन् । यस्तालाई जनताले चाँडै पराजित गर्ने छन् ।”

प्रकाशित : सोमबार, पुष २०, २०७७१८:४८

कोरोना सङ्क्रमण परीक्षणको नयाँ विधि