कहाँ बन्छ नक्कली पिसिआर रिपोर्ट ?

काठमाडौं । शनिवार युनाइेट अरब इमिरेट्स (युएई)को दुबई जान लागेकामध्ये सात जना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परे । उनिहरु सबैसँग नक्कली पिसिआर रिपोर्ट रहेको थियो । नेपालमा पिसिआर नेगेटिभको सर्टिफिकेट बोकेर उडेकाहरु युएई, हङकङ, जापान पुगेपछि चेकजाँच गर्दा पोजेटिभ पाइएका थिए । त्यसैकारण अन्तराष्ट्रिय उडान भरिरहेको नेपाल वायुसेवा निगम पटक पटक प्रतिवन्धमा परिरहेको थियो । शनिबार सात जना विमानस्थलबाट नक्कली पीसीआर रिपोर्टसहित पक्राउ परेपछि कहाँबाट कीर्ते कागजपत्र तयार पारे भन्ने विषयमा प्रहरीले अनुसन्धान जारी राखेको छ । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।

विमानस्थल सुरक्षा कार्यालयले शंकास्पद रिपोर्टसहित नियन्त्रणमा लिएका ७ जनामाथि महानगरीय प्रहरी वृत्त, गौशालाले अनुसन्धान जारी राखेको हो । गौशाला प्रहरीका डीएसपी जितेन्द्रबहादुर बस्नेतका अनुसार पक्राउ परेका व्यक्तिले ह्याम्स अस्पताल र सेन्टर डायगोनस्टिक प्रयोगशालाको नक्कली पीसीआर रिपोर्ट बोकेका थिए । ‘हालसम्मको अनुसन्धानले नक्कली रिपोर्ट बनाउने कार्यमा अस्पताल वा प्रयोगशालाको संलग्नता देखाएको छैन’, बस्नेतले भने, ‘कुनै साइबर वा अन्य ठाउँमा फोटोसपबाट एडिट गरेर नाम फेरेको हुनसक्ने देखिएको छ, विस्तृत अनुसन्धान भइरहेको छ ।’

विमानस्थल सुरक्षाका प्रमुख एसएसपी राजेशनाथ बाँस्तोलाका अनुसार विभिन्न देश जान लागेका व्यक्तिको शंकास्पद रिपोर्ट देखिएपछि छानबिन थालिएको थियो । ‘रिपोर्टमा भएको सिरियल नम्बर अनुसार अस्पताल र प्रयोगशालामा सोध्दा त्यो अर्कै व्यक्तिको नामको रिपोर्ट भएको पाइयो’, बाँस्तोलाले भने । रिपोर्ट नक्कली भएको पुष्टि भएपछि प्रहरीले सल्यानका दिनेश सिंह, धनुषाका तेजनारायण महतो, छेदी महतो, सोलेन्द्र महतो, मकवानपुरका रोशनप्रसाद आचार्य, अर्घाखाँचीका प्रविन भट्टराई र सिन्धुपाल्चोकका माइला तामाङलाई पक्राउ गरेको थियो । थप अनुसन्धान गौशाला प्रहरीले गरिरहेको छ ।

प्रकाशित : मङ्गलबार, पुष २१, २०७७०८:१६

सीमा क्षेत्रमा जबर्जस्ती पिलर गाडेपछि स्थानीयले लखेटे एसएसबीलाई