काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि सडकमा आएको पुष्पकमल दाहाल–माधवकुमार नेपाल समुहले आन्दोलनमा अन्य दलको समर्थन खोज्न थालेको छ । पहिलो चरणको आन्दोलन गरेर अन्य दललाई सयुक्त आन्दोलन गर्न कुरेको सो समुहले साथ नपाएपछि एक्लै दोस्रो चरणको कार्यक्रम घोषणा गरिसकेको छ । तर, अझैपनि सो समुहले नेपाली कांग्रेस र जनता समाजवादी पार्टीको साथ खोजेको हो । एक्लाएक्लै आन्दोलनमा जाँदा सशक्त नहुने छनक पाएपछि दाहाल–नेपाल समुहले अन्य दलको समर्थन खोजेका हुन् । कांग्रेसले आफु एक्नै आन्दोलन र चुनावी मैदानमा जाने तयारी गरिसकेको छ । जसपाले पनि सयुक्त आन्दोलन गर्ने कुनै तत्परता देखाएको छैन । जसपाभित्र उपेन्द्र यादव र डा. बाबुराम भट्टराई आन्दोलनमा जान खोजेपनि महन्थ ठाकुर, राजेन्द्र महतो लगायत अनिइच्छुक देखिएका छन् । जसका कारण दलहरुबीच आन्दोलनको तालमेल देखिएको छैन । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।
प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा मुद्दा विचाराधिन रहेकाले पनि दलहरु आन्दोलनमा जान हिच्किचाई रहेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले विघटन अधिनायकवाद भएपनि अदालतलाई धम्क्याउन नमिल्ने विचार सार्वजनिक गरिसकेका छन् । उनले घुमाउरो पारामा निर्वाचनको तयारीमा लाग्नु पर्ने बताउदै आएका छन् । तर, वरिष्ठ नेता रामचन्द्र पौडेल भने आन्दोलनमै जानुपर्ने भन्दै देउवालाई निरन्तर दवाव दिईरहेका छन् ।
आन्दोलनमा जानुपर्ने मत बोकेका दलभित्रको समुहको मंगलबार राजधानीमा अन्तरक्रिया भएको थियो । त्यसमा दाहाल–नेपाल समुहका अध्यक्ष माधव नेपाल, कांग्रेसका वरिष्ठ नेता पौडेल, जसपाका यादव र भट्टराई उपस्थित भएका थिए । कार्यक्रममा अध्यक्ष नेपालले नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)लाई सडकमा पनि सँगसँगै आउन भनेका छन् । ‘हामी एउटै यात्राका सहयात्रीहरू हौँ, सडकबाट हामीले हाम्रो धारणा राखिसकेका छौँ’, उनले भने, ‘विगतमा पनि यस्ता खालका संकट निवारणका लागि हाम्रो सहयात्रा भएको थियो ।’
अन्य दलका नेताले सयुक्त आन्दोलनका विषयमा खासै प्रष्ट धारणा भने राखेनन् । यसअघि पुष्पकमल दाहालले भारतसहित अन्तराष्ट्रिय समुदायले नेपालको समस्याका विषयमा बोल्नुपर्ने मत राखिसकेका छन् । संसद विघटन हुँदा पनि आफुहरुको पक्षमा नबोलेको सार्वजनिक टिप्पणी गरिरहेका बेला दाहाल भने अहिले भारतमा रहेका छन् । पत्नी सीता दाहालको उपचारका लागि भन्दै उनि सोमबार भारतको मुम्बई प्रस्थान गरेका हुन् ।
सो समुहले माघ २३ गतेसम्मका लागि आन्दोलनको घोषणा गरेको छ । कांग्रेसले भने वडास्तरसम्म कार्यक्रम गर्दै एक्लै आन्दोलनमा जाने केन्द्रीय समितिबाट निर्णय नै गरिसकेको छ । जसका कारण दाहाल–नेपाल समुहले अन्य दलसँग संयुक्त मोर्चा बनाउन सकेको छैन । संयुक्त आन्दोलन हुँदा जनमत बढि देखिने र सरकार एंव अदालतलाई आफ्नो पक्षमा जनलहर रहेको देखाउने उक्त समुहको दाउ रहेको छ । यता, नेकपाकै केपी शर्मा ओली पक्ष भने देशका विभिन्न भागबाट शक्ति प्रर्दशन गर्ने होडमा लागेको छ । देशका मुख्य मुख्य शहरमा मन्त्रीसहित जिल्ला र प्रदेश तहका नेताले सम्बोधन गर्दै निर्वाचनको माहौल बनाउन जुटेको छ । संसद पुनःस्थापना हुन नसक्ने भन्दै सवै नेता कार्यकर्तालाई निर्वाचन केन्द्रीत कार्यक्रममा जुट्न आव्हान पनि गरिसकेको छ ।