काठमाडौँ – पछिल्लो २४ घण्टामा पुष्टि भएका थप ४०९ सहित हालसम्म कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ६३ हजार १९३ पुगेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा छ हजार ७०६ नमूना परीक्षण गर्दा थप ४०९ जना कोरोना पुष्टि भएको हो । जसमा १४४ महिला र २६५ पुरुष छन् ।
कूल सङ्क्रमितको सङ्ख्या दुई लाख ६३ हजार १९३ मध्ये दुई लाख ५६ हजार १६१ सङ्क्रमणमुक्त भएका छन् । देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार १३३ छ । तीमध्ये १६०८ जना होमआइसोलेसनमा छन् ।
एक सय ९७ को आइसियुमा उपचार भइरहेको छ । तीस जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । कोरोना सङ्क्रमणबाट हालसम्म एक हजार ८९९ को मृत्यु छ ।
प्रदेश नं १ मा ४१० सक्रिय सङ्क्रमित
प्रदेश नं १ मा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या ४१० जना रहेका छन् । सक्रिय सङ्क्रमितमध्ये ३९१ जना होमआइसोलेसनमा, नोबेल मेडिकल कलेजमा सात, विराट मेडिकल कलेजमा चार, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र मेची अस्पतालमा तीन÷तीन, कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा दुई जना उपचारमा रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका तथ्याङ्क सङ्कलन तथा अनुगमन समितिका संयोजक डा रवीन्द्र निरौलाका अनुसार अस्पतालमा उपचारर्थमध्ये पाँच जना आइसियु र १४ जना सामान्य श्ययामा छन् । आजसम्म २९ हजार ९२८ सङ्क्रमितमध्ये २९ हजार ५६ डिस्चार्ज भएका छन् । सङ्क्रमण देखिएकामध्येबाट अहिलेसम्ममा ४६२ को मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा २१४ जना डिस्चार्ज भएका छन् । होमआइसोलेसनबाट २०६, कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रबाट चार, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट दुई, विराट मेडिकल कलेज र नोबेल मेडिकल कलेजबाट एक÷एक जना डिस्चार्ज भएका हुन् ।
पछिल्लो २४ घण्टाको अवधिमा १५ जना नयाँ सङ्क्रमित थपिएका छन् । थपिएकामा मोरङमा १० जनामध्ये विराटनगरमा सात, धनकुटाको धनकुटा नगरपालिकामा तीन र झापामा दुई जना छन् । हालसम्ममा प्रदेशमा दुई लाख १० हजार ७२५ जनाको पिसिआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ ।