सामाजिक सञ्जाल फेसबुक र ट्वीटरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अकाउन्टलाई प्रतिबन्ध लगाएका छन् । वासिङटनस्थित क्यापिटोल हिलमा भएको हिंसात्मक घटनाको विषयमा पोस्ट गरेको कारण देखाउँदै सामाजिक सञ्जालहरुले ट्रम्पमाथि अस्थायी प्रतिबन्ध लगाएका हुन् ।
सामाजिक सञ्जालमा ट्रम्पले प्रदर्शनकारीहरुलाई ‘आई लभ यू’ लेखेका थिए। पटक-पटक निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै आएका ट्रम्पले यस विषयमा कुनै प्रमाण भने पेस गर्न सकेका छैनन्। बुधबार ट्रम्पले नै अमेरिकाको वाशिङ्टनस्थित क्यापिटोल हलअगाडि हिंसात्मक प्रदर्शन गर्न उक्साएको बताइएको छ।
नियम पालना नगरेको स्पष्ट पार्दै ट्वीटरले ट्रम्पले गरेका पोस्ट नहटाएसम्म प्रतिबन्ध नहट्ने बताएको छ। ट्रम्पले उक्त नियम पालना नगरे उनको अकाउन्ट स्थायीरुपमा नै हटाइने चेतावनी समेत दिएको छ। त्यस्तै, अर्को सामाजिक सञ्जाल फेसबुकले पनि ट्रम्पको अकाउन्टमाथि २४ घण्टाको प्रतिबन्ध लगाएको हो।