षड्यन्त्र गरेर हटाउन खेजेका थिए, तर यो स्थिरताको सरकार पो हो त: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार स्थिरताको सरकार भएको बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा सम्बोधन गर्दै उनले निर्वाचन लडेर आएको प्रधानमन्त्रीलाई बीचमा षड्यन्त्र गरेर हटाउन खोज्ने प्रयास भए पनि अहिलेको सरकार स्थायित्वको भएको स्पष्ट पारे ।

“निर्वाचित प्रधानमन्त्रीलाई काम गर्न नदिने स्थिति स्थायित्व र स्थिरताको होइन, अहिले चाहिँ हो” प्रधानमन्त्री ओलीले भने, “ अहिले कसैले चाहेर पनि प्रधानमन्त्री हटाउन सक्दैन ।” केही व्यक्तिले प्रधानमन्त्रीबाट राजीनामा दिएको भए हुने भन्ने सुझावलाई प्रधानमन्त्रीले भन्नुभयो, “कतिपयलाई केपी ओलीले थपक्क पद छाडिदिए हुन्थ्यो भन्ने लागेको होला, किन छाड्ने ? कसलाई छाड्ने ? यो प्रधानमन्त्रीको जिम्मेवारी हो । यो जनताले सुम्पिएको अभिभारा हो । जस्तोसुकै अवस्थामा जस्तासुकैलाई पनि सुम्पिन मिल्दैन ।”

उनले बहुमत कसैको आएन भने, दुई वा दुईभन्दा बढी दलले सरकार बनाउन सकेन भने, प्रधानमन्त्रीले एक महिनामा विश्वासको मत ल्याउन सकेन भने प्रधानमन्त्रीको सिफारिशमा राष्ट्रपतिबाट निर्वाचनको नयाँ मिति तोक्ने सक्ने व्यवस्था भएको स्पष्ट पारे । प्रधानमन्त्री ओलीले थपे, “चुनाव हुनु अस्थिरता होइन, संविधानको सही तरिकाले कार्यान्वयन नहुनु अस्थिरता हो, संवैधानिक बाटोबाट जाँदा अस्थिरता हुँदैन ।”

देशमा अस्थिरता फिँजाउने साझा प्रयास भइरहेको जनाउँदै प्रधानमन्त्री ओलीले कर्तव्यबोध र जिम्मेवारीका साथ निर्वाचनमा जान सबैलाई आग्रह समेत गरे । प्रधानमन्त्री ओलीले नेपालको अन्तरराष्ट्रिय सम्बन्ध तथा दुई छिमेकीबीचको सम्बन्ध सुमधुर भएको पनि बताए ।

प्रकाशित : आइतबार, पुष २६, २०७७१७:२९

आन्दोलनका लागि तयार रहनु: माधव नेपाल