काठमाडौँ – २४ वर्ष अगाडी भैंसी चोरेर भागेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। भैँसी चोरेर फरार भएका एक व्यक्ति २४ वर्षपछि प्रहरीले सप्तरीबाट पक्राउ गरेको हो।
पक्राउ पर्नेमा कंचनरुप नगरपालिका-४ पिप्रापूर्वका ५० वर्षीय लक्ष्मण सरदार रहेका छन्। सरदारलाई प्रहरीले कंचनरुप नगरपालिका-४ पिप्रापूर्वस्थित उनकै घरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
सरदारले २०५३ साल माघ २९ गते स्थानीय भरतलाल बहरखेरको भैँसी चोरेका थिए। उक्त मुद्दामा अदालतले २०७१ साल असार ५ गते एक महिना कैद र ३७ हजार रुपैयाँ जरिमानाको फैसला गरेको थियो।
अदालतको फैसला आएपश्चात उनी फरार रहँदै आएका उनलाई सरदारलाई उनको घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता भुवनेश्वर साहले बताए ।
पक्राउ परेका सरदारलाई राजविराज कारागार चलान गरिएको छ।
अपरिचित समूहद्वारा पिकअप भ्यानमा आगजनी
सप्तरीको विष्णुपुर गाउँपालिका–६ गोरगमा आज बिहान एउटा पिकअप भ्यानमा आगजनी गरिएको छ । स्थानीय बेचन मुखियाको पिकअप भ्यानमा बिहान अपरिचित व्यक्तिको एक समूहले आगजनी गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार आफ्ने घर अगाडि राखिएको स १ च १७२५ नं को भ्यानमा आगजनी गर्दा अगाडिको भाग पूर्णरुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भुवनेश्वर साहले जानकारी दिए।
बिहान करिब १ः०० बजेतिर घर अगाडि पार्किङ गरी राखिएको अवस्थामा परालमा पेट्रोल छर्केर आगजनी गरेको पीडित मुखियाले बताए । सो आगलागीबाट झण्डै रु २४ लाख भन्दा बढीको क्षति भएको प्रहरीले अनुमान गरेको छ ।
पिकअपमा आगजनी व्यक्तिगत रिसिइबिका कारण गरेको हुनसक्ने अनुमान गरिएको छ । घटनामा संलग्नको खोजी र घटनाबारे थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

