काठमाडौँ – सोमबार दिउँसो काठमाडौँ उपत्यकामा भूकम्प गएको छ। सोमबार दिउँसो २ बजेर ३२ मिनेट जाँदा काठमाडौँ उपत्यकामा भूकम्पको धक्का महसुस गरिएको हो।
काठमाडौँको कुलेश्वर आसपास केन्द्रविन्दु भएर अपराह्न २ बजेर ३२ मिनेटमा सामान्य भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्प ३ दसमलभ १ रेक्टर स्केलको थियो।
यस अगाडी पुस १९ गते ताप्लेजुंग केन्द्रविन्दु बनाएर भूकम्प गएको थियो। त्यसदिन बिहानको १० बजेर ४४ मिनेटमा ४ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
विस २०७२ को महाभूकम्पपछि सना-ठूला पराकम्पहरु जानेक्रम जारी छ। महाभूकम्प गएका क्षेत्रमा दशौँ वर्षसम्म परकम्पन आइरहने विज्ञले जनाएका छन्। विज्ञहरुका अनुसार यसकै निरन्तरताका रूपमा नेपालमा पाँच वर्षअघिको भूकम्पपछि परकम्पन आइरहेको हो।
जमीनमुनि भारतीय र तिब्बती प्लेट निरन्तर ठोक्किइरहने र भारतीय प्लेट तिब्बती प्लेटको मुनि घुस्ने क्रम निरन्तर भइरहेको हुँदा यसबाट हुने शक्ति सञ्चय भूकम्पीय माध्यमबाट क्षय हुने विज्ञहरुले बताएका छन् ।