काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ओलीलाई साथ दिने पूर्वमाओवादीहरु देख्दा लाज लाग्ने बताएका छन्। मंगलबार पोखरामा आफूपक्षका कार्यकर्ता माझ ओलीको गुटमा गए पुर्वमाओवादीहरुलाई देखेर लाज लाग्ने बताएका हुन्।
पोखरामा आयोजित कार्यकर्ता प्रशिक्षणलाई सम्बोधन गर्नेक्रममा प्रचण्डले ओलीको पक्षमा लाग्ने पुर्वमाओवादीहरु देखेर आफैंलाई लाज लाग्ने गरेको बताए। माओवादीले गरेको क्रान्तिलाई देखिनसहने ओलीको पक्षमा पुर्वमाओवादीहरु उभिनु धेरै नै दुख लाग्दो कुरा भएको उनको भनाई छ।
कार्यकर्ता माझ प्रचण्डले संसद विघटन गरेर ओलीले कलंकको टिका लगाएको आरोप लगाए। ओलीले असंवैधानिक कदम चालेर कलंकको टीका लगाइसकेको उनको आरोप छ।
ओलीले गलत कदम उठाइसकेको उल्लेख गर्दै प्रचण्डले आउने केहि महिनामै आफूहरु विजयी हुने दावी गरे। आफूहरुले अन्तिम समयसम्म पार्टी एकताका लागि पहल गरेको उनको जिकिर छ।
“केही महिनाभित्रै हामी विजयी हुन्छौं। केपी गुटको पतन अनिवार्य छ। ओलीले कलंकको टीका लगाइसक्नुभयो। हामीले अन्तिम समयसम्म पार्टी एकताका लागि पहल गरेका हौं। मैले केपी ओलीलाई नै भनेको छु- तर तपाईंको पतन सुरू भयो, हाम्रो विजय अभियान सुरू भयो।”,प्रचण्डले भने।
यस्तै प्रचण्डले ओलीका उखान टुक्का र हाँस्यव्यंग्य प्रहसन तथा भ्रमहरू परास्त गर्न पनि सडकमा उत्रनुपर्ने पनि बताएका छन्। सडकमा उत्रँदा फेरि एकपटक वि-द्रोह गरेको अनुभूति भइरहेको उनले बताए।
ओलीको असंवैधानिक कदम विरुद्ध केही महिना खटेर काम गर्नुपर्ने अवस्था आएको पनि प्रचण्डले बताए। निर्वाचन आयोग, सर्वोच्च अदालत र जनताको अदालतबाट एकै फैसला आउने र प्रतिनिधि सभा पुनर्स्थापना हुने उनको विश्वास छ।