प्रचण्डको चेतावनी – “अब नेपालमा आँधीहुरी आउँछ”

पोखरा – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले असंवैधानिक ढंगले विघटित प्रतिनिधिसभा पुनस्र्थापना हुने दाबी गरेका छन्। नेकपा गण्डकी प्रदेशस्तरीय बृहत् कार्यकर्ता भेला तथा संघर्ष अभिमुखीकरण कार्यक्रमलाई मंगलबार सम्बोधन गर्दै उनीहरूले प्रतिनिधिसभा पुनस्र्थापना हुनबाट प्रधानमन्त्री केपी ओली मात्र होइन, दुनियाँको कुनै पनि तागतले रोक्न नसक्ने ठोकुवा गरेका हुन्। यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ।

दाहालले प्रतिनिधिसभा विघटन गर्ने अधिकार प्रधानमन्त्रीमा नभएकाले पुनस्र्थापना हुने बताए। कार्यकर्तालाई आश्वस्त पार्दै उनले भने, ‘तपाईंहरू ढुक्क हुनुस्, संसद् पुनस्र्थापना हुन्छ, त्यो पनि सर्वोच्च अदालतकै फैसलाबाट।’ उनले संविधानविपरीत अदालतबाट पुनस्र्थापना नभए जनताको बलबाट गर्ने चेतावनी दिए। ‘जनता नै सबैभन्दा ठूलो अदालत हो,’ उनले भने, ‘संविधानविपरीत संसद् विघटन गर्ने कुरालाई सदर गरियो भने त्योभन्दा ठूलो अदालत जनता हो, जनताले नै त्यसको फैसला गर्छन्।’

दाहालले आधिकारिक नेकपा आफूहरू नै भएको र सूर्य चिह्न पनि पाउनेमा आफूहरू ढुक्क रहेको बताए। ‘तपाईंहरू यसमा पनि ढुक्क हुनस्,’ उनले भने, ‘नेकपा हाम्रै हुन्छ, सूर्य चिह्न हाम्रै हुन्छ, दुनियाँको कुनै तागतले त्यसलाई हामीबाट खोस्न सक्दैन।’ निर्वाचन आयोगप्रति शतप्रतिशत विश्वस्त रहेको बताउँदै उनले थपे, ‘विधिविधान मिचेर नेकपा र सूर्य चिह्न खोसियो भने नेपालमा आँधीहुरी आउँछ।’ ओली र तीनका मान्छेले नेकपा र सूर्य चिह्न आफूहरूले पाउने भनेर जनतामा भ्रम छरिरहेको र त्यही भ्रममा परेर केही नेता/कार्यकर्ता न्युट्रल बसेको भन्दै उनले भने, ‘नेकपा र सूर्य चिह्न कसको पक्षमा जान्छ, त्यतै जानेमा कोहीकोही हुनुहुन्छ भन्ने सुनेको छु। त्यस्तो दुविधामा बस्नै पर्दैन। यो हाम्रै हो, हामीले नै पाउँछौं, त्यही भएर छिटो नेकपाको मूलधारमा गोलबन्द हुनुस्।’

उनले माओवादीको अवमूल्यन गर्ने ओलीको पछि पूर्वमाओवादीका नेता लागेकोमा आश्चर्य व्यक्त गर्दै भने, ‘केपी ओलीले माओवादी जनयुद्धलाई कुहिएको फर्सी भन्नु भयो रे, के जनयुद्ध कुहिएकै फर्सी हो ? तपाईंहरूलाई लाज लाग्दैन ? सहिदको रगतले पोल्दैन ?’ उनले प्रतिगमनको साक्षी नबस्नसमेत ओलीको पछि लागेका पूर्वमाओवादी नेताहरूलाई आग्रह गरे।

प्रकाशित : बुधबार, पुष २९, २०७७०८:४८

ओलीको कदमले विप्लव उत्साहित !