काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–नेपाल पक्षको अनेरास्ववियुले सत्ता टिकाउने नाममा राष्ट्रिय स्वाधीनता र स्वाभिमानमा गम्भीर आँच पुर्याउने कार्य प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको आरोप लगाएको छ। भारतीय टेलिभिजनलाई प्रधानमन्त्रीले अन्तर्वार्ता दिएपछि अनेरास्ववियुले यस्तो आरोप लगाएको हो।
प्रधानमन्त्री ओलीले बालुवाटारमा बोलाएर अन्तरवार्ता दिएका जी न्यूजका प्रधानसम्पादक सुधीर चौधरीले सगरमाथामा भारतले दाबी गर्नुपर्छ भन्ने अभियान चलाएपछि अनेरास्ववियू सहसंयोजक रञ्जित तामाङले बुधबार विज्ञप्ति जारी गरेर आपत्ति समेत जनाएका छन्।
नेपालको राष्ट्रिय स्वाधीनता र नेपाली जनताको स्वाभिमानका विरुद्ध लगातार रुपमा विषवमन गर्दै आएको जी न्युजलाई प्रधानमन्त्रीस्तरबाटै बालुवाटारमा स्वागत गरिएको परिघटनाले थप आशंकित र आक्रोशित तुल्याएको तामाङले बताएका छन्। साथै उनले भ्रामक र तथ्यहिन समाचार सम्प्रेषण नगर्न र अविलम्ब माफी माग्न समेत चौधरी र उनको च्यानललाई आग्रह समेत गरेका छन्।
“प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा बोलाएर अन्तर्वार्ता दिएकै भोलिपल्ट भारतीय समाचार संस्था जी न्युजका प्रधान सम्पादक सुधीर चौधरीले नेपाली अस्मिता र स्वाभिमानमाथि धावा बोल्दै सगरमाथामाथि अत्यन्तै आधारहीन, रहस्यमय र कपोकल्पित ढंगले पेश गरिएको दावीलाई अनेरास्ववियू खारेज गर्दछ । नेपालको राष्ट्रिय स्वाधीनता र नेपाली जनताको स्वाभिमानका विरुद्ध लगातार रुपमा विषबमन गर्दै आएको जी न्युजले आफ्ना कर्तुत उपर कुनै प्रायश्चित नगर्दै प्रधानमन्त्री स्तरबाटै बालुवाटारको पटाङ्गिनीमा त्यसका प्रधान सम्पादकलाई नै रातो कार्पेट बिछ्याएर स्वागत गरिएको परिघटनाले हामीलाई थप आशंकित र आक्रोशित तुल्याएको छ ।”,विज्ञप्ति जारी गरेर तामाङले भनेका छन्।
साथै उनले संविधान लत्याएर प्रतिगमनको बाटोमा हिँडेका प्रधानमन्त्री ओलीलाई सत्ता टिकाउने नाममा राष्ट्रिय स्वाधीनता र स्वाभिमानमा गम्भीर आँच पुर्याउने ब्यक्ति र संस्थाहरुसंग रहस्यमय र अपारदर्शी भेटघाट र साँठगाँठ नगर्न चेतवानी पनि दिएका छन्।