“ओली नां-गो राजा हुन्”

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली ‘नां-गो राजा’ भएको टिप्पणी गरेका छन् । शरीरमा लुगा नलगाएको राजालाई सबैले आहा ! कति राम्रो लुगा लगाएको भन्ने तर राजाले आफू नां-गो भएको महसुसै नगर्ने र नां-गो कसैले पनि भन्न नसक्ने प्रसंग सुनाउँदै नेपालले ओली पनि नां-गो राजा भएको टिप्पणी गरे । काठमाडौंमा दाहाल–नेपाल समूहले बुधबार आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो टिप्पणी गरेका हुन् । यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ।

ओली कहिल्यै नसुध्रिने मान्छे भएकाले पार्टी एकता गर्ने वामदेव गौतमको प्रयास सफल नहुने नेपालल बताए । नेपालले २०५१ सालदेखि नै ओलीले पार्टीमा गुट चलाउँदै अलग पार्टीको अभ्यास गरेको आरोप लगाए । ‘उहाँले विभिन्न तहमा गुट चलाउनुभयो तर पनि पार्टीलाई विभाजन गर्न दिइएको थिएन,’ नेपालले भने, ‘कमरेड वामदेव गौतम अहिले बालुवा पेल्दै हुनुहुन्छ । प्रचण्ड (पुष्पकमल दाहाल) ले पनि कुकुरको पुच्छर सोझिन्छ कि भनेर तेल लगाउनुभयो । तर बालुवा पेलेर तेल निस्कनेवाला छैन । केपी ओली सुध्रिने मानिस होइनन् ।’

नेपालले भने, ‘कमरेड वामदेव गौतम अहिले बालुवा पेल्दै हुनुहुन्छ । दाहालले पनि कुकुरको पुच्छर सोझिन्छ कि भनेर तेल लगाउनुभयो । तर बालुवा पेलेर तेल निस्कनेवाला छैन । केपी ओली सुध्रिने मानिस होइनन् ।’

नेपालले लोकतन्त्र र संविधानलाई प्रहार गरेपछि प्रधानमन्त्री ओली एक्लिँदै गएको बताए । असंवैधानिक कदमले ओलीलाई एक्लो र निरीह बनाएको उनको भनाइ छ । अध्यक्ष नेपालले देश, जनता, नागरिक समाज सबैतिरबाट आफूहरूलाई समर्थन रहेको दाबीसमेत गरे । ‘ओली सबैतिरबाट एक्लिनुभएको छ । प्रायः तानाशाहहरू यसरी नै एक्लिन्छन्,’ नेपालले भने । ओलीले माक्सवादी आन्दोललाई सिध्याउन खोजेको र लोकतन्त्रको मर्ममाथि प्रहार गरेको नेपालको भनाइ थियो । उहाँलाई झुटबाहेक केही आउँदैन साँच्चै उहाँ झुटको पुलिन्दा नै हो भन्दै नेपालले झुट बोल्न माहिर रहेकोसमेत बताए । ‘उहाँले डम्मरु बजाउँदै केन्द्रीय सदस्य बन्न आउन भनेर टिकट बाँडिरहनुभएको छ,’ नेपालले भने । उनले ओलीले केन्द्रीय सदस्य पाँच हजार पुर्‍याउने तयारी गरिरहेको बताउँदै सडकछाप पार्टीमा कोको जाने हुन् त्यो हेर्न बाँकी रहेको पनि बताए । ‘ओलीले नेकपाको केन्द्रीय सदस्य चार सय ४१ बाट बढाएर पाँच सय ५६ त्यसबाट बढाएर एक हजार पाँच सय एक बनाउनुभएको छ, त्यसबाट पनि बढाएर २५ सय एक बनाउन लागेको म सुन्दै छु, २५ सय एकले पनि नपुगे पाँच हजारले त कम्तीमा पुग्ला ?’ नेपालले भने ।

प्रकाशित : बिहिबार, माघ ०१, २०७७०९:३०

नेकपा छुट्टा-छुट्टै दुई दिशामा !