माघ १० गते नेपाल बन्दको घोषणा

काठमाडौँ – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले नेपाल बन्दसहितका संघर्षका कार्यक्रमको घोषणा गरेको छ। पार्टी नेता धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’ पक्राउ परेको विरोधमा विप्लव नेकपाले नेपाल बन्दसहितका विभिन्न संघर्षका कार्यक्रमको घोषणा गरेको हो।

पुस २९ गते पार्टीको केन्द्रीय समिति सचिवालयका सदस्यसमेत रहेका नेता कञ्चन पक्राउ परेका थिए। त्यसको विरोधमा बिहीबार विप्लवले विज्ञप्ति सार्वजनिक गर्दै नेपाल बन्दसहितका संघर्षका कार्यक्रम सार्वजनिक गरेका हुन्।

विप्लवले विज्ञप्ति जारी गर्दै केपी सरकार र राज्यलाई क्रान्तिकारी पार्टी, नेता–कार्यकर्तामाथिको दमन बन्द गर्न, गिरफ्तारीमा परेका नेता–कार्यकर्तालाई मुक्त गर्न साथै एकीकृत जनक्रान्तिलाई राजनीतिक विषयका रूपमा आत्मसात गर्न आग्रह समेत गरेका छन्।

राज्यको फा-सिस्ट दमनले न्यायपूर्ण सङ्घर्ष कहिल्यै नरोकिने, बरु त्यसले एकपछि अर्को उचाइ पकड्दै गएर एक दिन दमनकारी राज्य र यसका सञ्चालक नै समाप्त हुने सत्यसँग स्पष्ट हुन विप्लवको चेतावनी छ।

“हामी केपी सरकार र राज्यलाई क्रान्तिकारी पार्टी, नेता–कार्यकर्तामाथिको दमन बन्द गर्न, गिरफ्तारीमा परेका नेता–कार्यकर्तालाई मुक्त गर्न साथै एकीकृत जनक्रान्तिलाई राजनीतिक विषयका रूपमा आत्मसात गर्न आग्रह गर्छौं । राज्यको फा-सिस्ट दमनले न्यायपूर्ण सङ्घर्ष कहिल्यै नरोकिने, बरु त्यसले एकपछि अर्को उचाइ पकड्दै गएर एक दिन दमनकारी राज्य र यसका सञ्चालक नै समाप्त हुने सत्य स्पष्ट गर्दछौँ । केपी सरकारले बेलैमा यसलाई बुझोस् भन्ने हाम्रो चेतावनी छ ।”,विप्लवले विज्ञप्ति जारी गर्दै भनेका छन्।

माघ ३ गते देशव्यापी विरोध जुलुस, माघ ५ गते देशव्यापी विरोध सभा माघ ७ गते देशव्यापी विरोध प्रदर्शन, माघ ९ गते देशव्यापी मशाल जुलुस र माघ १० गते नेपाल बन्द गर्ने विप्लवले विज्ञप्ति मार्फत स्पष्ट पारेका छन्।

प्रकाशित : बिहिबार, माघ ०१, २०७७१९:४१

नेपालमा एकैपटक दुई न्यून चापीय क्षेत्रको प्रभाव, कस्तो रहला आगामी तीन दिनको मौसम ?