काठमाडौं । प्रतिनिधिसभा विघटनपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई पक्ष विपरित दिशामा अगाडी बढ्न थालेका छन् । प्रधानमन्त्री एंव अध्यक्ष केपी शर्मा ओली पक्ष निर्वाचनको माहौल बनाउन जुटेको छ । अध्यक्षद्वय पुष्पकमल दाहाल–माधवकुमार नेपाल पक्ष भने आन्दोलन सशक्त बनाउदै सहकार्य गर्न अन्य दलसँग छलफलमा फेरी जुटेको छ । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।
दुवै पक्षको विहिवार राजधानीमा स्थायी कमिटीको अनौपचारिक÷औपचारिक बैठक बसेको थियो । ओली नेतृत्वको नेकपाले पार्टी विभाजनपछि देशभर भएका भेला, बैठक र जनसभाहरुको समीक्षा गर्दा उत्साहजनक माहोल निर्माण भएको ठहर गरेको छ । माघे सक्रान्तिका अवसरमा अनौपचारिक छलफलमा लागि बालुवाटार बोलाइएका आफू पक्षधर स्थायी कमिटी सदस्यहरुसँगको ब्रिफिङपछि ओलीले ढुक्क भएर चुनावी अभियानमा लाग्न नेताहरुलाई निर्देशन दिए ।छलफलमा नेताहरुले अनौपचारिक रिपोर्टिङ गरेका थिए भने सुवास नेम्वाङले निर्वाचन आयोग र सर्बोच्च अदालतमा चलिरहेका न्यायिक तथा कानुनी प्रक्रियाको बारेमा ब्रिफिङ गरेका थिए ।
‘त्यहाँ देशभरको अवस्थाबारे ब्रिफिङ भयो, विभाजनपछि केही असर परे पनि तल्लो तहसम्म पुग्दा कार्यकर्ता ओली नेतृत्वमै रहेको पाइयो । उत्साजनक अवस्था बनेको छ र अबका सबै कार्यक्रमहरु चुनाव केन्द्रित गरौं भन्नुभएको छ प्रधानमन्त्रीले’, छलफलपछि नेता सुवास नेम्वाङले भने । प्रधानमन्त्री ओलीले अहिलेसम्मको माहोल हेर्दा उत्साजनक रहेको र माहोललाई थप आफ्नो पक्षमा बनाउन गाउँ–गाउँमा जान ओलीले निर्देशन समेत दिएका छन् ।
दाहाल–नेपाल पक्षको स्थायी कमिटी बैठकले भने प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलन अझै प्रभावकारी बनाउने निर्णय गरेको छ । पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले अहिले भईरहेको आन्दोलनको समिक्षा गर्दै भावी रणनीति बनाउने विषयमा छलफल भएको थियो । बैठकमा प्रतिनिधिसभा विघटनविरुद्धको संघर्षका कार्यक्रमलाई अझै प्रभावकारी बनाउने भन्ने विषयमा भएको स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले जानकारी दिए ।
‘आन्दोलनको विषयमा छलफल भयो । बैठक आन्दोलनलाई अझै कसरी प्रभावकारी बनाउने भन्ने विषयमा केन्द्रित रह्यो । कुनै निर्णय भएको छैन’, नेता पोखरेलले भने । बैठकमा अध्यक्ष नेपाल नेतृत्वको कार्यदलले प्रतिवेदन पेस गरेको छ । पुस २० गते बसेको बैठकले एकीकरणसम्बन्धी बाँकी काम र नेताहरूको कार्यविभाजन टुंगो लगाउन अध्यक्ष नेपालको नेतृत्वमा कार्यदल बनाएको थियो । बैठक शुक्रबार ११ बजे पुनः बस्ने उनले जानकारी दिए । प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन गर्दै आइरहेको यो समुहले बुधबार साँझ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटगरी सडक र सत्तामा साझेदारी गर्न प्रस्ताव गरेको थियो । तर, देउवाले यो विषयमा पार्टीमा छलफल गर्नुपर्ने जवाफ दुवै अध्यक्षलाई गराएका थिए ।
सरकारले पुष ५ गते प्रतिनिधिसभा विघटन गरेपछि बैशाख १७ र १७ गते मध्यावधि निर्वाचनको घोषणा गरेको छ । तर, सर्वोच्च अदालतमा विघटनविरुद्ध १३ वटा मुद्दा परेपछि संवैधानिक इजलासमा विचाराधिन रहेको छ । सो मुद्दालाई संवैधानिक इजलास वा बृहत् पूर्ण इजलासमा सुनुवाई गर्ने बारेमा बहस भईरहेको छ । सो सम्बन्धि बहस आज पनि इजलासमा हुदैछ । सम्भवत आजै यो विषयमा फैसला आउन सक्ने सर्वोच्च स्रोतले जानकारी दिएको छ ।