काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा विघटन गरेर सरकारले संविधानको अक्षर, भावना र मर्मविपरीतको काम गरेको आरोप लगाएका छन्। प्रतिनिधिसभा विघटनका विरोधमा नेपाल बुद्धिजीवी सङ्गठनले बिहीबार यहाँ आयोजना गरेको कार्यक्रममा उनले प्रतिगामी तत्व सडकमा सल्बलाइरहेका बेला सरकारले जनप्रतिनिधिमूलक संस्था विघटन गरेर देशलाई थप सङ्कटमा धकेलेको आरोप लगाए। यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ।
संविधानमा बहुमतको प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने कुनै अधिकार नरहेको विचार गर्दै उनले प्रतिनिधिसभाले प्रधानमन्त्री चुन्न नसके वा प्रधानमन्त्रीले विश्वासको मत लिन नसकेमा मात्र त्यस्तो व्यक्तिले संसद् विघटन गर्न सक्ने जिकिर गरे।
संविधानको कुनै धारामा प्रतिनिधिसभा विघटन गर्ने व्यवस्था नभएको र दुई वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन नमिल्ने प्रावधान रहेको बताउँदै पूर्वप्रधानमन्त्री नेपालले संविधानमा हुँदै नभएको धारा उल्लेख गरी अन्तरराष्ट्रिय अभ्यासलगायत कुरा राखेर प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेको आरोप लगाए।
प्रधानमन्त्रीले लोकतान्त्रिक परिपाटीलाई नै लत्याएर अघि बढ्न खोजेको आरोप लगाउँदै उनले जथाभावी नियुक्ति गर्नेदेखि लिएर गलत काम गर्दै हिँडेको आरोप पनि लगाए। ‘हामीले पार्टीमा विधि, पद्धतिका बारेमा छलफल गरौँ भन्यौँ। नीतिगत राष्ट्रिय सरोकारका विषयमा जनसरोकारका विषयमा छलफल गरौँ, पार्टीभित्र देखिएका आन्तरिक समस्या समाधान गर्न बारम्बार प्रयत्न गर्यौँ तर सफल भएनौँ, हामीले उहाँको हरेक कदममा साथ नदिनु नै हाम्रो अपराध हो र रु समस्या उहाँको चिन्तन र कार्यशैलीमा नै देखिएको हो’, उनले भने।