अब देउवा प्रधानमन्त्री बन्ने बाबुरामको दावी !

काठमाडौँ – जनता समाजवादी पार्टीका संघीय परिषद डाक्टर बाबुराम भट्टराईले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने दावी गरेका छन्। शुक्रबार गृहजिल्ला गोरखा पुगेका भट्टराईले देउवा प्रधानमन्त्री बन्ने उच्च सम्भावना रहेको बताएका हुन्।

गोरखामा पत्रकारहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले हालको अवस्था हेर्दा सत्ता नेपाली कांग्रेसको हातमा पुग्ने देखिएको बताए। प्रधानमन्त्री केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालसमेत रिङआउट भइसकेको भट्टराईको भनाई छ।

“प्रतिनिधि सभामा जसपाको स्थान चौथौ हो, त्यसैले हाम्रो पार्टीले सरकारको नेतृत्वमा दाबी गर्दैन। केपी ओली र प्रचण्ड–माधव स्वतः रिङ आउट हुन्छन्, सरकारको नेतृत्वमा शेरबहादुर देउवाको स्थान देखिन्छ ।”,उनले भने।

यस्तै भट्टराईले प्रतिनिधि सभा विघटन गरेर ओलीले अपराध गरेको पनि बताएका छन्। अदालतको फैसलाले ओलीलाई रिङआउट गर्ने उनको भनाई छ।

भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्या भण्डारीलाई दण्डित गर्नुपर्ने पनि बताएका छन्। प्रतिनिधि सभा विघटन गर्नु राष्ट्रपति र प्रधानमन्त्रीको असंवैधानिक कदम मात्रै नभइ राष्ट्रघाती अपराधसमेत भएकाले दण्डित गर्नुपर्ने उनको भनाई छ।

प्रकाशित : शुक्रबार, माघ ०२, २०७७१९:००

लडेर प्रहरी हवल्दार खड्काको मृत्यु!