शीतलहर पीडित भन्छन् – ‘अब भोट माग्न आए दुवै औठाले छाप लगाइदिउँला’

सरकारको कदमले गणतन्त्रदेखि संघीयतासम्मको व्यवस्था धरापमा पारेको भन्दै राजनीति गर्माएको छ। यो व्यवस्था विपन्न वर्गको उत्थानका लागि सबैभन्दा बढी आवश्यक भनियो तर तिनै विपन्न जनता भने सर्दीले थरथर काँप्दै छन्। तिनैमध्ये एक हुन्, लक्ष्मीनिया मण्डवानन्कारकट्टी गाउँपालिका–४ की सुकुमबासी ७० वर्षीया लक्ष्मीनिया। उनलाई देशको राजनीति गर्मागर्मीभन्दा पनि भ्वाङ परेकोे ओढ्ने कम्बलको चिन्ताले सताएको छ। पुस लागेसँगै बढेको चिसो र एक सातादेखि परेको शीतलहरले कठ्यांग्रिएर मरिन्छ कि भन्ने डरले उनलाई सताएको हो। यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ।

‘गुर्दी (फाटेको लुगा जोरजार पारेर बनाइएको ओढ्ने) आइढ क जार काटैत एल छेली तेसरा साल सरकार कमर देलक (गर्दी ओढेर जाडो काट्दै आएको हामीले तीन वर्षअघि कम्बल पाएका थियौं),’ उनले भनिन्, ‘अखनी ओही कमरमे भुरेभुर भक फाइट गेलै (अहिले त्यही कम्बल भ्वाङै भ्वाङ भएर फाटेको छ)।’ जाडोका कारण कष्टकर जीवन बाँचिरहेको यहाँको विपन्न वर्गलाई मनकारीले तीन वर्षअघि कम्बल बाँडेका थिए। अहिले तिनै कम्बल ओढ्नै नमिल्ने गरी फाटेका छन्। कम्बल मात्र होइन, लक्ष्मीनियाको मन पनि फाटेको छ।

उनी भन्छिन्, ‘अतके सरकारके अपना स उबारे नै होइछै त गरिबके कथी देतै, भोट लैला एतै त दुनु औठा बाइर देबै (यहाँको सरकारलाई हामी गरिबको कष्ट बुझ्ने फुर्सद कहाँ छ, अब भोट माग्न आए दुवै औठाले छाप लगाइदिउँला)।’

मनकारीले दिएको कम्बलको तातोमा धेरै रात काटेकी उनले भनिन्, ‘अखनी कमरसँगे मनो फाइट गेल अछि (अहिले कम्बलसँगै हाम्रो न्यानो मात्र होइन मन पनि फाँटेको छ)।’ लहरै तीनवटा छाप्रोमा आफ्नो गरिबीलाई ओत लगाएका छन् लक्ष्मीनिया, प्रमिला र गुलावदेवी मण्डलले। ओढ्नेको अभावमा आगो तापेर रात कटाउने गरेको बताउँछन् उनीहरू। बगैंचाबाट बढारेर ल्याएको पातपतिङ्गर बालेर आगो ताप्न बाध्य लक्ष्मीनिया भन्छिन्, ‘धैनके भगवान् जे जान बचल छैन (धन्न भगवान् छ र हाम्रो ज्यान बाँचेको छ)।’

भूमिहीन सुकुमबासी गुलावदेवी यस टोलकी एकल महिला हुन्। गरिबीका कारण उपचार गराउन नसक्दा उनले कलिलै उमेरमा पति राजनलाई गुमाइन्। राजनको तीन वर्षअघि मृत्यु भयो। उनको घरमा कमाउने कोही छैनन्। पाँच वर्षीय छोरा दुर्गेशको दायाँ हात चल्दैन। उनी भन्छिन्, ‘गरिब के जान भगवान् बचादेने छै (हामी गरिबको ज्यान भगवान्ले जोगाइदिएको छ)। कमाएर/मागेर ल्याएको अन्नबाट साँझबिहान खाइन्छ। काम नपाएको दिन चुलो बल्दैन।’

उनको बेहाल देखेर जोकोहीलाई दया पलाउँछ। तर स्थानीय सरकारको नजरबाट आफूहरू ओझेल परेको स्थानीय जामुन यादवले बताए। ‘चुनावके बेरमे घी लेब कि मठ्ठा, जित क गेला पर कोई न कोई (चुनावका बेला दयावान् उनीहरू जितेर पदमा पुुगेपछि कतिसम्म निर्दयी हुँदा रहेछन् भन्ने अहिले अनुभव गर्दै छु)’ उनले भने।

प्रकाशित : आइतबार, माघ ०४, २०७७०८:३५

नेपाललाई कोरोनाविरुद्धको खोप दिने भारतको आश्वासन !