“ओलीलाई जनताले नभई पार्टीले प्रधानमन्त्री बनाएको हो”

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड-नेपाल खेमाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी शर्मा ओलीलाई प्रधानमन्त्री जनताले नभई आफूहरुले बनाएको बताएका छन्।

आइतबार राष्ट्रिय युवा संघ नेपालको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्नेक्रममा प्रचण्डले ओलीलाई जनताले नभई आफूहरुले प्रधानमन्त्री बनाएको बताए। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले चाहेर मात्र केपी ‌ओलीलाई प्रधानमन्त्री बनाइएको उनको दावी छ।

जनताले सिधै प्रधानमन्त्री बनाउने भए एउटै मात्रै प्रधानमन्त्री नभई निर्वाचित सबै सांसद प्रधानमन्त्री हुने उनले तर्क गरे। ओलीलाई पार्टीले प्रधानमन्त्री बनाएको भन्दै प्रचण्डले अनुशासनमा नबसेपछि कारवाही गरिएको बताए।

“तपाईंलाई जनताले प्रधानमन्त्री बनाएको होइन। त्यसो हुँदो हो त हाम्रो २७५ जना नै प्रधानमन्त्री हुन्थे। एउटै मात्रै प्रधानमन्त्री हुन्थ्यो त? सबै निर्वाचित सांसद हुन्। सबै प्रधानमन्त्री हुँदैन। तपाईंलाई पार्टीले प्रधानमन्त्री बनायो। चाहेपछि झिकिदियो। अनुशासनमा राख्ने र नसके कारवाही गर्ने भन्ने तपाईंलाई थाहा थियो।”,प्रचण्डले भने।

ओलीले पार्टीका कुनै पनि निर्णय नमानेको पनि प्रचण्डले आरोप लगाएका छन्। पार्टीका बैठक देखि ओली भाग्ने गरेको र पार्टीले गरेका निर्णय नमान्ने गरेका कारण अहिलेको अवस्था आएको उनको भनाई छ।

प्रचण्डले ओलीलाई लक्षित गर्दै प्रश्न गरे,”बैठकबाट किन भाग्नुभयो? बैठक राख्यो हरेकपटक भाग्ने किन गर्नुभयो। बहुमतको निर्णय किन इन्कार गर्नुभयो। गरेको निर्णय किन मान्दिनँ भन्नुभयो?”

यस्तै प्रचण्डले केपी ओली पतनको बाटोमा अगाडी बढेको पनि बताएका छन्। ओलीले रोजेको पतनको बाटोमा आफूहरु लाग्न नसक्ने प्रचण्डको भनाई छ।

“हामी तपाईँको बाटोमा हिँड्न सक्दैनौं| तपाईले रोजेको पतनको बाटो हो। त्यो बाटो हामीलाई स्वीकार्य छैन। तपाईसँग हाम्रो व्यक्तिगत केही रिसिबी छैन। त्यो बाटोलाई घृणा गरेका हौं। गलत प्रवृत्तिका विरुद्ध संघर्ष गर्नु परेको हो।”,उनले भने।

प्रकाशित : आइतबार, माघ ०४, २०७७१५:११

‘गिरिजाप्रसाद कोइरालालाई जस्तो संसद विघटन गर्ने अधिकार ओलीलाई छैन’