“ओली टुहुरा भए, अब अस्ताउँदो सूर्य मात्रै पाउँछन्”

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड-नेपाल खेमाका अध्यक्ष माधवकुमार नेपालले सूर्य चिन्ह आफ्नै हुने दावी गरेका छन्। काठमाडौमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले सूर्य चिन्ह आफ्नै हुने दावी गरेका हुन्।

अखिल नेपाल महिला संघको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै नेकपा र चुनाव चिह्नमा आँखा नलगाउन नेपालले प्रधानमन्त्री केपी ओलीलाई चेतावनी दिए।

आफूहरुसँग स्पष्ट बहुमत रहेका कारण पार्टीको वैधानिकता र सूर्य चिन्ह आफूहरुले पाउने उनको दावी छ। उदाउँदो सूर्य आफूहरुको हुने भन्दै उनले अस्ताउँदो सूर्य मात्र ओलीको हुने दावी गरे।

“पार्टीमा हाम्रो स्पस्ट बहुमत छ । त्यसकारण सूर्य चिन्ह हाम्रै हो । ओलीको अस्ताउँदो सूर्य हो, उदाउदो सूर्य चिन्ह त हाम्रो हो।”,उनले भने,”ओलीको हुने भनेको अब नेकपा एमाले र अस्ताउँदो चिह्न मात्रै हो”

यस्तै नेपालले संसद विघटन गरेको कदमलाई सबै पार्टीले विरोध गरिरहेका बेला एकातिर सिंगो देश र अर्को तिर केपी ओली एक्लो टुहुरो बनेको पनि बताएका छन्। एक्लो भएका ओलीले कसरी मुख देखाउलान् भन्ने भन्दै प्रश्न पनि नेपालले गरे।

“ओलीको कदम विरुद्ध कांग्रेस, राप्रपा, जसपा लगायत सिंगो देशले असंवैधानिक भनिरहेको छ । सिंगो देश एकापट्टि र केपी ओली एक्लो टुहुरो भएका छन् । यस्तो अवस्थामा ओलीले करी मुख कसरी देखाउँछन्?”,नेपालले भने।

अध्यक्ष नेपालले प्रधानमन्त्री पदमा बसिरहनैका लागि ओलीले संसद विघटनको बाटो रोजेको पनि बताएका छन्। संकटकाल लगाएर भएपनि प्रधानमन्त्री भैरहन ओलीले खोजेको नेपालको आरोप छ।

“उहाँलाई चुनाव गर्नु छैन । संकटकाल लगाएर भएपनि प्रधानमन्त्री भइरहन खोजेको मात्रै हो।”,उनले भने।

प्रकाशित : सोमबार, माघ ०५, २०७७१६:१०

संवैधानिक इजलासमा आज के-के भयो ?