“भारतीय भूमिमा चीनले १०१ घर भएको गाउँ नै बनायो”

एजेन्सी – भारतीय संचार माध्यमहरुले भारतीय भूमिमा चीनले गाउँ नै निर्माण गरेको दावी गरेका छन्। एनडीटिभी सहितका विभिन्न संचार माध्यमहरुले भारतीय भूमि मिचेर चीनले गाउँ नै निर्माण गरेको दावी गरेका हुन्।

एनडीटिभीले एक विस्तृत रिपोर्ट नै तयार पारेर चीनले भारतको अरुणाञ्चल प्रदेशमा एक गाउँ निर्माण गरेको र त्यहाँ १ सय १ घर भएको दावी गरेको छ।

स्याटलाइटबाट प्राप्त तस्विरहरुका अध्ययन पश्चात त्यहाँ चीनले १ सय १ घर निर्माण गरेको थाहा हुन आएको एनडीटिभीले जनाएको छ। रिपोर्टका अनुसार चीनले निर्माण गरेको गाउँ सुबनसिरी जिल्ला अन्तर्गत पर्छ।

चीनसँगको भारतको सिमानाको करिव ४ दशमलब ५ किलोमिटर भित्र नै उक्त गाउँ रहेको बताइएको छ। उक्त गाउँ सारी चु नदीको किनारमा रहेको छ।

एनडीटिभीले केहि महिना भित्रै घरहरु निर्माण भएको दावी पनि गरेको छ। उसका अनुसार लद्दाखदेखि एक हजार किलोमिटर पश्चिममा पर्ने उक्त भूभागमा २०२० को अगस्टसम्म कुनै घर देखिएका थिएनन् । तर, नोभेम्बर १ को स्याटलाइट तस्विरमा भने १ सय भन्दा बढी घर देखिएको एनडीटिभीले जनाएको छ।

चीनले गाउँ निर्माण गरेको भनिएको क्षेत्रमा चीन र भारतबीच सिमानालाई लिएर लामो समयदेखि विवाद हुँदैआएको छ ।

प्रकाशित : सोमबार, माघ ०५, २०७७१७:५९

निर्वाचन बारे पहिलो पटक बोलिन् राष्ट्रपति !