काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड-नेपाल खेमाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीको रुपमा स्वीकार्न आफू तयार रहेको बताएका छन्।
एक निजि टेलिभिजनलाई अन्तर्वार्ता दिनेक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीको रुपमा स्वीकार्न आफू तयार रहेको स्पष्ट पारेका हुन्।
लोकतन्त्र र संविधान रक्षाका लागि जतिसुकै लचिलो हुन पनि आफूहरू तयार रहेको प्रचण्डले बताए। कांग्रेस निरन्तर रूपमा लोकतान्त्रिक प्रणालीमा रहेकोले प्रचण्डको भनाई छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधि सभा विघटन गर्ने अलोकतान्त्रिक कदम विरूद्धमा कांग्रेससँग आफूहरूको समझदारी हुने प्रचण्डले विश्वास व्यक्त गरे।
“शेरबहादुर देउवा जी अहिले नेपाली कांग्रेसको सभापतिको हैसियतले, त्यसको दलको नेताको हैसियतले उहाँलाई प्रधानमन्त्री स्वीकार्न मलाई केही अप्ठ्यारो छैन । हिजो पनि मैले सहमति गरेर उहाँलाई प्रधानमन्त्री स्वीकारेको हो । उहाँले भनेकै अनुसार, समझदारी अनुसार समयमा नै उहाँलाई प्रधानमन्त्री बनाएको पनि हो ।”,अन्तर्वार्ताका क्रममा प्रचण्डले भनेका छन्।
शान्तिप्रक्रियामा देउवाले महत्वपूर्ण भूमिका निभाएको समेत प्रचण्डले बताएका छन्। संविधान बचाउने, प्रणाली बचाउने र जनतालाई स्थायित्व र विकास दिने सर्तमा देउवालाई प्रधानमन्त्री बनाउन आफू तयार रहेको उनको भनाई छ।
उनले भने,”यो शान्तिप्रक्रियाको पहिलो अपिलकर्ता म र शेरबहादुर देउवा जी नै हो । त्यो नाताले पनि एउटा केही न केही सम्बन्ध छ । संविधान बचाउने, प्रणाली बचाउने र जनतालाई स्थायित्व र विकास दिने सर्तमा म उहाँलाई प्रधानमन्त्री वा उहाँले कोही भन्नुहुन्छ भने त्यसलाई पनि मान्न मलाई केही आपत्ती छैन ।”