“प्रचण्ड र माधव नेपाललाई जेल हाल्ने ओलीको योजना”

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड-नेपाल खेमाका अध्यक्ष माधव कुमार नेपालले आफूहरुलाई जेल हाल्ने षड्यन्त्र शुरु भएको बताएका छन्।

बुधबार सम्पादकहरुसँगको अन्तरक्रियामा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले आफू र पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल’प्रचण्ड’लाई जेलमा हाल्ने षड्यन्त्र गरिरहेको बताएका हुन्।

अध्यक्ष नेपालले ओलीले प्रतिगमनको स्टेप चाल्ने पहिल्यै चेतावनी दिएको भन्दै एक नम्बरमा आफूलाई र त्यसपछि प्रचण्डलाई जेलमा कोच्ने योजना रहेको बताए। त्यसैका लागि ओलीले ललिता निवास प्रकरण अगाडी ल्याइएको उनको भनाई छ।

प्रधानमन्त्री निवास बालुवाटारको ललिता निवास सरकारी जग्गा व्यक्तिका नाममा लिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको विषय प्रति सङ्केत गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन्।

यस्तै नेपालले सबै नेता उस्तै हुन् भन्दा आफ्नो मन घोच्ने र पोल्ने गरेको पनि बताएका छन् । तत्कालिन एमालेको तर्फबाट गणतन्त्रका पक्षमा कुरा ल्याउने पहिलो व्यक्ति आफू नै रहेको उनले बताए।

“तत्कालीन एमालेको तर्फबाट पहिला गणतन्त्रको कुरा ल्याउने मै हुँ । १२ बुँदे सहमतिमा पनि मेरो पहल भयो । त्यसपछि तरंग नै छायो । तर अहिले गणतन्त्र जोगाउने सवालमा हामीले पुनः आन्दोलन गर्नुपर्दा माधव–केपी उस्तै हुन् भन्दा मेरो मन पोल्छ।”,उनले भने।

केपी शर्मा ओली नेकपा एमालेको अध्यक्ष भएपश्चात नै एमालेको यात्रा ओरालो लाग्न थालेको पनि उनले बताए। पहिला पार्टीमा हरेक विषयको पार्टी कमिटिबाट निर्णय हुने गरेपनि पछिल्लो समय ओलीको एकाधिकारवादी सोच र अपारदर्शीताले त्यस्तो हुन छाडेको उनको भनाई छ।

प्रकाशित : बुधबार, माघ ०७, २०७७१२:०३

भारतले नेपाललाई कोरोना खोप अनुदान दिने !