जग्गाधनी बेल्जियममा थिइन्, यी दुई सरकारी कर्मचारी मिलेर सुटुक्कै बेचिदिएछन् जग्गा !

काठमाडौँ – कागजात किर्ते गरी अरुको जग्गा बेच्ने दुई जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ। जग्गा धनीलाई थाहै नदिई कागजात किर्ते गरी जग्गा बेच्ने मालपोतका अधिकृतसहित दुई जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा दीपक दाहाल र नायब सुब्बा नारायण श्रेष्ठ रहेका छन्। धनगढी जान लागेका वेला दाहाललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका श्रेष्ठको घर नुवाकोट ककनी गाउँपालिका-८ रहेको छ भने उनी मालपोत कार्यालय कलंकीमा नायब सुब्बाको रुपमा कार्यरत छन्। त्यस्तै दाहाल भने मालपोत कार्यालय कलंकीका पूर्व शाखा अधितकृत रहेका छन्। उनी काठमाडौं टोखा नगरपालिका-४ बस्दै आएको बताइएको छ।

श्रेष्ठ र दाहालले कागजात किर्ते गरी ७२ लाख रुपैयाँ ठगेका महानगरीय प्रहरी परिसर, काठमाडौंले जनाएको छ। थानकोटकी मीना खड्काको नाममा रहेको २० आना जग्गाको नक्कली कागजात बनाई जग्गा बिक्रि गरेको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रमेश विष्टले बताए।

विष्टका अनुसार जग्गाधनी मीना खड्का बेल्जियम बस्दै आएकी थिइन्। बेल्जियमबाट फर्केर मालपोत पुगेपछि मात्रै खड्काले जग्गा नामसारी भएर विक्री भइसकेको थाहा पाएकी थिइन्।

उनीहरुले मीना खड्काको नामको साविक थानकोट-५ को क्षेत्रफल १ रोपनी ४ आना जग्गालाई खड्का बेल्जियम रहेको बेलामा नक्कली मीना खड्का बनी नक्कली जग्गाधनी पुर्जा र नागरिकता देखाई जग्गा बिक्री गरी उक्त रकम ठगी गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ।

प्रकाशित : बुधबार, माघ ०७, २०७७१८:३९

सङ्घर्षले मालिक बनेकी दीपा, ३७ जनालाई रोजगारी दिँदै !