“केपी ओलीमा बदला लिन खोजे”

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेपाल–दाहाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली बदलाको भावना लिएर अघि बढ्ने स्वभावको भएको टिप्पणी गरेका छन् । ओलीले उनमा निहित खराब प्रवृत्तिलाई सच्याउन आग्रह गर्ने र चुनौती दिनेलाई शत्रुको व्यवहार गर्ने नेपालले बताए । यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ।

सम्पादकहरूसँग बुधबार कुराकानी गर्दै अध्यक्ष नेपालले आफूले ओली प्रवृत्तिलाई चुनौती दिएकाले आफूमाथि बढी नै प्रहार भएको बताए । उनले तत्कालीन एमालेको नवौं महाधिवेशनबाट पार्टी लगातार ओरालो यात्रातिर लागेको पनि बताए । प्रधानमन्त्री ओलीले बोल्ड निर्णय गर्ने र चमत्कार गर्ने बताउँदै आएका प्रति लक्षित गर्दै अध्यक्ष नेपालले पहिलो चरणमा आफूलाई जेलमा राख्ने र दोस्रो चरणमा पुष्पकमल दाहाललाई जेल ठोक्ने रणनीति बनाएको बताए । ‘उहाँले मलाई ललिता निवास प्रकरणमा थुन्ने योजना बनाउनुभएको रहेछ’, नेपालले भने, ‘मैले पनि जेलमा राखेर देखाउन चुनौती दिएँ । मैले एकएक केसमा जान्छु भनें । मैले चुनौती दिएपछि चाहिँ उहाँ भनेकै छैन भन्नुहुन्छ, चुनौती दिनेबित्तिकै अरिंगालको गोलामा हान्ने र साइबर सेना खटाउने गर्नुहुन्छ ।’

नेपालले ओलीमा अहंकार बढ्दै गएको र त्यसैको परिणाम प्रतिनिधिसभा विघटन भएको बताए । उनले प्रधानमन्त्री ओलीले गलत काम गर्दै जाने र पार्टीले त्यस्ता कामलाई समर्थन गर्नुपर्ने अवस्था आएपछि आफूहरूले समर्थन गर्न नसक्ने बताएको जानकारी पनि सम्पादकलाई गराए । आफूहरूले समर्थन गर्न नसक्ने बताएपछि ओलीले थप पेल्न र हेप्न खोजेको नेपालले बताए ।

नेपालले तत्कालीन र एमाले र माओवादीबीच एकता उठानको कुरा पनि स्मरण गरे । ‘२०६४ सालमा मैले प्रचण्ड (दाहाल) लाई एकता गरौं भनेर प्रस्ताव गरेको हो, ओलीले पनि एकता गर्ने भनेपछि म दंग, बल्ल ठाउँमा आए भनेजस्तो लागेको थियो,’ नेपालले भने ।

अध्यक्ष नेपालले पार्टी एकतालगत्तै ओलीले झलनाथ खनालमाथि आक्रमण सुरु गरेको बताए । त्यो क्रम लगातार जारी रहँदा अहिलेको अवस्था आएको दाबी उनले गरे । ‘ओलीबाट हेपिँदा, पेलिँदा नै अहिले यो परिस्थिति सिर्जना भएको हो । एकता भएको केही दिनबाटै उहाँले समर्थन नगर्नेहरूलाई पेल्न सुरु गर्नुभएको थियो’, उनले भने ।

प्रकाशित : बिहिबार, माघ ०८, २०७७०९:०१

इजरायल: केहि हप्तामै छनोट सुरु, केहि महिनामै ५ सय पठाईने !