काठमाडौं : कोभिड–१९ महामारीका कारण आयस्रोत गुमेर उपभोक्ताको क्रयशक्ति कमजोर बनेका बेला नेपालीको भान्छा अचाक्ली महँगिएको छ। तोरी, भटमास, सनफ्लावरको तेलसँगै चामल, केराउलगायत दैनिक उपभोग्य वस्तुको मूल्य अस्वाभाविक रूपमा बढेको छ। यसले गर्दा रोजगारी गुमाएका र कम ज्यालामा काम गर्ने वर्ग बढी मारमा परेका छन्। यो समाचार आजको अन्नपूर्णपोस्ट दैनिकमा प्रकाशित छ।
खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठका अनुसार पछिल्लो दुई साता अवधिमा दैनिक उपभोग्य वस्तुको मूल्य निकै बढेको छ। ‘पछिल्लो डेढ वर्षमा सबैभन्दा बढी खानेतेलमा मूल्य बढेको छ’, अध्यक्ष श्रेष्ठले भने, ‘प्रतिलिटरमा १ सय रुपैयाँसम्म बढ्यो।’
संघका अनुसार तोरीको तेल दुई साताअघि प्रतिलिटर २ सय ४५ मा पाइन्थ्यो। अहिले २ सय ७५ देखि २ सय ८० रुपैयाँसम्म पर्छ। भटमासको तेल प्रतिलिटर १ सय ७५ देखि १ सय ८० रुपैयाँसम्म पथ्र्यो। यसको मूल्य बढेर २ सय २५ रुपैयाँ पुगेको छ। त्यस्तै २ सय १० देखि २ सय २० प्रतिलिटरमा पाइने सनफ्लावरको तेल २ सय ३५ देखि २ सय ४० पर्न थालेको छ। प्रत्येक जातको चामलको भाउ प्रतिबोरा ५० देखि १ सय रुपैयाँसम्म वृद्धि भएको संघले जनाएको छ। प्रतिकिलो १ सय २५ मा पाइने हरियो केराउको मूल्य १ सय ४० र सेतो केराउको मूल्य ८० रुपैयाँबाट १ सय रुपैयाँ पुगेको छ।
संघका अनुसार भारतमा चामल उत्पादनमा कमी र भारतले नै भियतनामबाट महँगोमा आयात गरेकाले नेपालमा पनि त्यसको प्रभाव परेको हो। नेपालमा चामल उत्पादन भए पनि अधिकांश उपभोक्ताले प्रयोग गर्ने भारतबाट आयातीत चामल हो।
उत्पादक र सरकारको मिलेमतोमा खानेतेलको मूल्य बढेको श्रेष्ठको दाबी छ। उनका अनुसार विश्वबजारमा कच्चा पदार्थको मूल्यवृद्धि, भाडा वृद्धि, कच्चा पदार्थ अभावलगायत समस्या कात्तिकमा नभए पनि उद्योगबाट कात्तिकमै उत्पादन भएको र हाल बजारमा आएको खानेतेलको मूल्य बढेको हो।