“पूर्वराजा वीरेन्द्र र ज्ञानेन्द्र भन्दा ओली धेरै तानाशाही”

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली अहिलेसम्मकै ठूला तानाशाह भएको आरोप लगाएका छन् । टीकापुरमा बिहीबार आयोजित विरोधसभालाई सम्बोधन गर्दै उनले प्रतिनिधिसभा विघटन गरेर ओली तानाशाहका रूपमा उदाएको बताए । उनले भने, ‘पूर्वराजा वीरेन्द्र र ज्ञानेन्द्र पनि यति धेरै तानाशाही थिएनन् ।’ यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ।

उनले प्रधानमन्त्री ओलीले अदालत, सेना, प्रहरीलगायतमा आफ्ना मान्छे भर्ती गरेर ‘सेटिङ’ मिलाएको बताउँदै अदालतमा १५ वर्षसम्म ओलीका मान्छे रहनेगरी अहिले नै ‘सेटिङ’ भैसकेको छ । उनले प्रधानमन्त्री ओलीले वैशाखमा निर्वाचन गराउन नचाहेको बताए । ‘चुनाव हात्तीको देखाउने दाँत मात्रै हो,’ उनले भने, ‘चुनाव हुन्छ भन्ने भ्रममा हामी कोही पर्नु हुँदैन।’

उनले संविधान र लोकतन्त्रलाई सही दिशामा लैजाने जिम्मेवारी आएको बताउँदै कांग्रेस र नेकपालाई प्रतिगमनविरुद्ध संघर्षमा उत्रिन आग्रह गरे । उनले चुनाव भइहाले बहुमत आउँछ भन्ने भ्रममा कसैले पर्न नहुने बताउँदै ओलीले चुनाव गराइहाले पञ्चायती शैलीको चुनाव गराउने दाबी गरे ।

उनले २०७२ भदौ ७ गते टीकापुरमा भएको घटना राजनीतिक भएको बताए । उनले टीकापुर घटनालाई राजनीतिक घटनाकै रुपमा सम्बोधन गरिनुपर्ने बताए । उनले कैलाली क्षेत्र नं. १ बाट विजयी सांसद रेशमलाल चौधरीलाई सरकारले राजनीतिक पूर्वाग्रहकै आधारमा जेलमा राखेको आरोपसमेत लगाए ।

उनले देशका सबै जातजाति अट्ने गरी जनता समाजवादी पार्टी (जसपा) को निर्माण भएको बताए । उनी जसपाका संघीय परिषद अध्यक्ष समेत हुन । सोही सभामा नेता प्रमोद साहले देश गम्भीर संकटमा फसेको बताए । उनले प्रतिनिधिसभाको विघटनसँगै प्राप्त उपलब्धि गुमेको बताए ।

जनता समाजवादी पार्टी कैलालीको आयोजनामा भएको केपी ओलीद्वारा गरिएको प्रतिगमनविरुद्धको विरोधसभामा विभिन्न वक्ताहरूले बोलेका थिए ।

प्रकाशित : शुक्रबार, माघ ०९, २०७७०८:५९

सावधान ! बदनियतले काटेको चेकले पुर्याउला जेल !