“ज्ञानेका मान्छे ओलीको पछाडि दौडिएका छन्”

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड-नेपाल खेमाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई ओलीले एक नम्बरको अपराधी सोचिरहेको बताएका छन्।

शुक्रबार नेकपाले राजधानीमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै प्रचण्डले ओलीलाई प्रचण्ड एक नम्बरका अपराधी हुन् भन्ने लागेको बताए।

प्रचण्डलाई सिध्याउनु पर्छ भनेर ओली लागिरहेको उनले आरोप लगाए। ओलीले आफूलाई सिध्याउन राजावादी र दक्षिणपन्थीसँग साँठगाँठ गरेको प्रचण्डको आरोप छ।

“ओलीलाई प्रचण्ड एक नम्बर अपराधी भन्ने लागेको । प्रचण्डलाई जसरी पनि सिध्याउनुपर्छ भनेर राजावादी र दक्षिणपन्थीसँग मिलेका छन् ।”,प्रचण्डले भने।

यस्तै प्रचण्डले ओलीका पछाडि पूर्व राजा ज्ञानेन्द्र शाहका मान्छेहरु दौडिएको टिप्पणी पनि गरेका छन्। प्रचण्डले स्पष्टसँग ओली गणतन्त्र विरोधी भएको आरोप लगाए।

“ज्ञानेका मान्छे ओलीको पछाडि दौडिएका छन्। ओली गणतन्त्र विरोधी हुन्”,प्रचण्डले भने। ओलीका कारण संविधान र व्यवस्था दुवै धरापमा परेको प्रचण्डको भनाई छ।

संविधान आईसीयुमा रहेका बेला केपी ओली हाँस्दै हिँडेको आरोप प्रचण्डले लगाए। संविधान बनेपछि नयाँ युगको परिकल्पना गरेको भएपनि केपी ओलीका कारण सम्भव नभएको प्रचण्डको भनाई छ।

संविधान बनेपछि देशमा स्थायित्व हुने, आर्थिक विकास होस्, सामाजिक न्याय होस् भन्ने चाहेपनि त्यो सपना पूरा गर्न नसकिएको भन्दै प्रचण्डले आफूसमेत आत्मालोचित भएको बताए।

“संविधान बनेपछि नयाँ युगको परिकल्पना गरेका थियौँ। सपनालाई तीन वर्षमा पूरा गर्न सकेनौँ। केपी ओलीले सहमति गर्ने कार्यान्वयन नगर्ने गर्दा यस्तो भयो। केपीलाई तह लाउन सकेनौँ। हाम्रो पनि केही कमजोरी भयो। केपी ओली प्रवृतिलाई ठीक गर्न सकिएन। आत्मालोचना गर्न चाहन्छु।”,उनले भने।

प्रकाशित : शुक्रबार, माघ ०९, २०७७१७:१६

अब अर्को ओली नजन्मिने घनश्याम भुसालको दावी !