काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी(नेकपा)मा देखिएको विभाजनको असर स्थानीय तह सम्म पुगिसकेको छ। नेकपाला नेता मात्र नभई यति बेला कार्यकर्ता समेत विभाजित भएका छन्।
यसै विभाजनका कारण विभिन्न ठाउँमा फरक खेमाका नेतालाई निषेध गर्ने कार्य समेत भएका छन्। पछिल्लो पटक निषेधको शिकार केपी शर्मा ओली पक्षका एक नेता भएका छन्।
ओली क्याबिनेटमा युवा तथा खेलकुदमन्त्री रहेका दावा तामाङलाई गृहजिल्ला सिन्धुपाल्चोक जानेक्रममा बीचबाटोमै अवरोध गरिएको छ। इन्द्रावती गाउँपालिका ४ टाकुरेमा स्थानीयले बीच बाटोमै रूख ढालेर मेलम्चीबाट प्रवेश गर्नमा रोक लगाएका हुन्।
कार्यकर्ता भेलाका लागि इन्द्रावती गाउँपालिका ५ स्थित ऐँसेलुखर्क जाँदै गरेका उनी स्थानीयको अवरोध पश्चात त्यस तर्फ जान सकेका छैनन्। तामाङ ४ घण्टादेखि मेलम्ची बजारमै रोकिएका छन्।
पार्टी एकीकरण हुनुभन्दा अगाडी माओवादी रहेका उनी नेकपा विभाजन तर्फ अगाडी भएपश्चात ओली खेमामा लागेका थिए। ओली तर्फ लागेपछि उनलाई मन्त्री समेत बनाइएको छ।
तामाङ गृहमन्त्री रामबहादुर थापा बादल निकट मानिन्छन्। सिन्धुपाल्चोकमा ओली पक्ष भन्दा पनि नेकपा अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालको पकड राम्रो रहेको छ। जस कारण तामाङ मेलम्चीमै अड्किन बाध्य भएका छन्।