आयात घट्दा पनि राजस्व संकलन वृद्धि !

काठमाडौं । कोरोना महामारीको असर तथा सरकारले केही वस्तुमा उच्च कर लगाउँदा आयात घटेको छ । तर, राजस्व संकलनमा भने सुधार भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आर्थिक वर्ष (आव) को पहिलो ६ महीनामा अघिल्लो वर्षको तुलनामा रू. ११ अर्बले राजस्व संकलन वृद्धि भएको छ । यो समाचार आजको आर्थिक अभियान दैनिकमा प्रकाशित छ।

यस अवधिमा आयात भने ४ दशमलव ८१ प्रतिशतले घटेको छ । चालू आवको पहिलो ६ महीनामा आयात रू. ३३ अर्बले घटेर ६ खर्ब ६१ अर्बमा सीमित भएको छ । पुस मसान्तसम्म विभागले कुल रू. १ खर्ब ८८ अर्ब राजस्व संकलन गरेको छ । विभागले अघिल्लो वर्षको यही अवधिमा रू. १ खर्ब ७७ अर्ब मात्रै राजस्व संकलन गरेको थियो ।

सरकारले महँगा तथा विलासी वस्तुुमा भन्सार दर वृद्धि गरी आयातमा कडाइ गर्ने नीति लिएपछि आव २०७५/७६ पछि आयात घट्दै गएको थियो । त्यसमाथि सरकारले कोरोना नियन्त्रण तथा रोकथामका लागि गतवर्ष चैतदेखि गरेको बन्दाबन्दीका कारण पनि आयात निर्यात प्रभावित भएको देखिन्छ ।

सरकारले गरेको बन्दाबन्दीका कारण पहिलो ३ महीनामा उद्योग, कलकारखानाहरू पूर्ण रूपमा बन्द भएकोमा हालसम्म व्यवसाय चलायमान बन्न सकेको छैन । व्यवसायीहरूका अनुसार अधिकांश उद्योग कलकारखाना अझै पूर्ण रूपमा सञ्चालनमा आइसकेका छैनन् । विस्तारै उद्योग कलकारखानाहरू खुल्ने क्रममा रहे पनि उद्योगले क्षमताअनुसार उत्पादन शुरू गरिसकेका छैनन् ।

कतिपय उद्योग त आंशिक वा पूर्ण रूपमा बन्द नै छन् । हालै प्रकाशित नेपाल राष्ट्र बैंकको प्रतिवेदनले अहिले ५० करोडभन्दा बढी लगानी भएका उद्योग आधा बन्द रहेका छन् भने १५ देखि ५० करोडसम्म लगानी भएका उद्योग ५१ प्रतिशत बन्द छन् । यस्तै १५ करोडसम्म लगानी भएका उद्योग ६२ प्रतिशत बन्द रहेका छन् ।

यस्तै लघु तथा साना व्यापार पनि ४९ प्रतिशत बन्द भएको तथ्यांकले देखाएको छ । उद्योग पूर्ण तथा आंशिक रूपमा सञ्चालन भइनसकेकाले आयातसहित समग्र वैदेशिक व्यापारमा यसको असर परेको व्यवसायीहरू बताउँछन् ।

प्रकाशित : आइतबार, माघ ११, २०७७०७:१६

सबैलाई गाली गर्दै प्रधानमन्त्री, कसैलाई छाड्दैनन् !