काठमाडौँ – नेकपाको प्रचण्ड–नेपाल समूहका एक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेपछि जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष डा. बाबुराम भट्टराईले सामाजिक सञ्जालमा लेखे, ‘ओली प्रतिगमनविरुद्ध कांग्रेस, प्रचण्ड–माधव नेकपा र जसपाका एक्लाएक्लै जनप्रदर्शन राम्रै देखिएका छन् । तर, आ–आफ्ना ऐनामा हेरेर मक्ख नपरौँ । आमजनताको वितृष्णा, भूराजनीतिक जटिलता र प्रतिगमनकारीको भित्री–बाहिरी सेटिङलाई कम नआँकौँ । एक्लाएक्लै खाल्डोमा जाकिने कि संयुक्त संघर्षको डुंगा चढ्ने ? सोचौँ !’
जसपा अध्यक्ष डा. भट्टराईले संयुक्त जनआन्दोलनमा जोड गरे पनि उनकै पार्टीभित्र संसद् विघटनपछिको पार्टी नीतिलाई लिएर एकीकृत मत छैन । संसद् विघटनविरुद्ध संयुक्त र सशक्त आन्दोलन गर्नुपर्ने एकसूत्रीय एजेन्डामा एउटा पक्ष र चुनावी तयारीमा पनि लाग्नुपर्ने अर्को पक्षको तर्क छ । एकथरी नेताहरू जसरी पनि संसद् पुनर्स्थापना हुनुपर्ने पक्षमा छन् भने अर्कोथरीको मत चुनावलक्षित छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ।
हुन त जसपाले संसद् विघटनलाई असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी कदम भन्दै सबैभन्दा पहिले सडक आन्दोलन थालेको थियो । केन्द्रीय कार्यकारिणी समितिले पुनर्स्थापनाको पक्षमा आन्दोलन गर्ने स्पष्ट एजेन्डा तय गरेको थियो । तर, आन्दोलनका क्रममा नेताहरूका अभिव्यक्तिमा भने मतभिन्तता छ । कसैले संसद् पुनर्स्थापनाको विकल्प देखेनन् त कसैले चुनावको विकल्प पनि उपयुक्त भएको अभिव्यक्ति दिएका छन् ।
पार्टीको संघीय परिषद् अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री भट्टराई संसद् पुनस्र्थापनाको पक्षमा स्पष्ट छन् । उनले जसपाले संसद्को पुनस्र्थापना चाहेको मात्रै होइन, कांग्रेस र नेकपाको प्रचण्ड–नेपाल समूहले नै पुनस्र्थापनाको पक्षमा आन्दोलनको नेतृत्व गर्नुपर्ने प्रस्ताव गर्दै आएका छन् । तर, केन्द्रीय कार्यकारिणी समितिका अध्यक्ष उपेन्द्र यादव र अन्य नेताहरूको फरक मत छ । अध्यक्ष महन्थ ठाकुरको पनि चुनावप्रति लचक अभिव्यक्ति छ ।