-डा. रविन्द्र पाण्डे
काठमाडौँ – अक्सफोर्ड युनिभर्सिटीले अनुसन्धान गरेको, एस्ट्रेजेनेका कम्पनीले उत्पादन गरेको, भारतको सिरम इन्स्टिच्युटमा यसको प्लान्ट स्थापना गरिएको कोभिसिल्ड नामक खोपको १० लाख डोज भारत सरकारको उपहारको रुपमा नेपाल आएको छ ।
भारतमा यो खोप ४ लाख व्यक्तिलाई लगाउँदा २ जनाको मृ-त्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । ती मध्ये १ जनाको हार्ट ए’ट्या’कबाट मृ-त्यु भएको थियो । नर्वेमा २३ जना ज्येष्ठ नागरिकको मृ-त्यु भएको थियो तर त्यहाँ यो खोप होइन, फाइजरको खोप लगाइएको थियो । नेपालमा आएको कोभिशिल्ड खोप तुलनात्मक रुपमा सुरक्षित मानिएको छ |
यो खोपको भारत लगायत धेरै देशमा ठुलो जनसङ्ख्यामा क्लिनिकल ट्र्याल गरिएको थियो । भारतमा तेस्रो चरणको क्लिनिकल ट्र्याल हुँदै गरेको खोप यो नभएर भारत बायोटेकको कोभ्याक्सिन नामक खोप हो । भारतमा यसको पनि भ्याक्सिनेसन भइरहेको छ । कोभ्याक्सिनलाई भारतका प्रतिपक्षी पार्टीले भाजपाको खोप भनेर यो खोप नलगाउने भनेका छन् । नेपालमा आएको यो खोप हैन।
– नेपालमा आएको कोभिशिल्ड खोप ३ हप्ताको अन्तरमा २ वटा लगाउनुपर्छ । दोस्रो मात्रा लगाएको १ हप्तापछि शरीरमा कोरोना भाइरसविरुद्धको एन्टिबोडी बन्ने बताइएको छ । तसर्थ पहिलो खोप लगाएपछि पनि कोरोना संक्रमण सर्ने सम्भावना हुन्छ ।जनस्वास्थ्यका मापदण्ड अबलम्बन गर्नुपर्दछ ।
– यो खोपको भारतमा ०.१५ % लाई साइड इफेक्ट देखिएको जनाइएको छ । खोप लगाएपछि रियाक्सन भएर एनाफाइलेटिक शकको खतरा हुनसक्छ । यस्तो भएमा आकस्मिक सुइको प्रयोगले अधिकांश व्यक्ति निको हुन्छन् ।
– सामान्य साइड इफेक्टको रुपमा ज्वरो आउने, टाउको दुख्ने, खोप लगाएको ठाउँमा दुख्ने / गिर्खा पर्ने लगायत हुनसक्छ जुन ५ देखि ७ दिनसम्म रहनसक्छ ।
– कुनै खोपको एलर्जी भएका, कुनै औषधिको एलर्जी भएका, अण्डा लगायत खाद्य पदार्थको एलर्जी भएका तथा विगतमा कुनै पनि औषधिको रियाक्सन भएका व्यक्तिले विशेष परामर्श गरेर मात्र चिकित्सकको निगरानीमा खोप लगाउनुपर्छ ।
– गर्भवती, सुत्केरी, गर्भवती हुने योजना बनाएका महिला तथा बालबालिकामा यथेष्ट अनुसन्धान भएको छैन । तसर्थ नलगाउनु सुरक्षित हुन्छ ।
– दीर्घरोगहरु जस्तै क्यान्सर, मुटु / किड्नी / फोक्सो / मस्तिष्क / ब्लीडिंग डिस्अर्डर / प्लेटलेट सम्बन्धी समस्या / स्नायु प्रणाली आदिको समस्या भएका व्यक्तिले यथेष्ट सुरक्षा अनुभूति भएपछि वा विशेषज्ञको निगरानीमा केही समयपछि लगाउनु बुद्धिमानी पूर्ण हुन्छ।
– नेपालमा आएको यो खोप पहिले स्वास्थ्यकर्मी, सफाइकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स र शबबाहन चालकलाई लगाउने सरकारले नीति बनाएको छ ।
– कोभ्याक्स सुविधा अन्तर्गत २० % जनसङ्ख्यालाई पुग्नेगरि खोप आउँछ । उक्त खोप २ महिनापछि ३ % जनसङ्ख्याको लागि आउँछ ।बाँकी १७ % को लागि उपलब्धता अनुसार बिस्तारै आउँछ।
– अन्य खोप सरकारले तथा निजी क्षेत्रबाट उपलब्ध गराउने सरकारको योजना छ । खोपको प्राथमिकतामा स्वास्थ्यकर्मी, जनताको सम्पर्कमा रहेर काम गर्ने कर्मचारी, ज्येष्ठ नागरिक, दीर्घ बिरामी, बयस्क, एक पटक संक्रमण भएका अनि युवामा क्रमशः रहेको छ ।
– २०२२ सम्म सबै नागरिकको खोपमा पहुँच हुनसक्छ ।
– महामारीको नियन्त्रण हुने बेलासम्म खोप लगाए पनि जनस्वास्थ्यका मापदण्ड पालना गर्नुपर्ने हुन्छ ।