काठमाडौँ – चन्द्रागिरि हिल्सले सर्वसाधारणका लागि निष्काशन गरेको आइपिओको बाँडफाँड शुक्रबार भयो। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा आइपिओको बाँडफाँट गरेको थियो।
त्यसक्रममा १ लाख ३९ हजार ६ सय जनाले १०-१० कित्ताका दरले शेयर पाए। तर, शेयरका लागि आवेदन दिने मध्येका दुई जनाले भने ११ कित्ताका दरले शेयर प्राप्त गरेका छन्। १० लाख ७७ हजारको हात खाली हुँदा दुई भाग्यशालि सर्वसाधारणले भने ११-११ कित्ताका दरले शेयर हात पारेका हुन्।
किन पाए ११ कित्ता शेयर ?
चन्द्रागिरि हिल्सले घितोबोर्डबाट कुल १३ लाख ९६ हजार २२ कित्ता शेयरका लागि आइपिओको जारी गर्ने अनुमति पाएको थियो। धितोपत्र बाँडफाँड निर्देशिका अनुसार कम्तिमा १ जनालाई १० कित्ता शेयर दिनुपर्ने हुन्छ। यस हिसाबले १ लाख ३९ हजार ६ सय जनाले १०-१० कित्ता शेयर पाए।
बाँकि रहेको २२ कित्ता मध्ये २ जनालाई १०-१० कित्ता शेयर बाँड्दा २ कित्ता रहने भयो। धितोपत्र बाँडफाँड निर्देशिका अनुसार १० कित्ता भन्दा कम शेयर दिन नमिल्ने भएको हुँदा २२ कित्ता शेयर दुई जनामा बाँडफाँट गरियो।
चन्द्रागिरि हिल्सले पुस २४ गतेदेखि प्रति कित्ता एक सय अंकित मूल्यको दरले कुल १५ लाख ३४ हजार ९१ कित्ता शेयर बिक्रीमा ल्याएको थियो। त्यसमध्ये ४ प्रतिशत अर्थात ६१ हजार ३६४ कित्ता शेयर कम्पनीका कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ७६ हजार ७०५ कित्ता शेयर सामूहिक लगानी कोषको लागि छुट्याएको थियो।

