एजेन्सी – भनिन्छ कि – कुकुर मानिसको सबै भन्दा मिल्ने साथि हो। यो कुरा भनाइ मात्र नभई वास्तविकता नै हो भन्ने कुरा टर्कीमा घटेको एक घटनाले पुष्टि गरेको छ।
टर्कीमा एक कुकुरले बिरामी परेर अस्पताल राखिएका मालिकलाई भेट्ने आशामा दिनहुँ अस्पताल पुगेको घटना यति बेला सामाजिक संजाल देखि मिडियासम्म चर्चामा छ।
भएको के थियो ?
घटना टर्की स्थित ट्राब्जनको हो। त्यहाँमा सेमल सेन्टुरक जनवरी १४ मा एक्कासी बिरामी परेका थिए। उनलाई तत्काल मेडिकल पार्क अस्पतालमा भर्ना गरियो। उनको उपचार हुँदै गर्दा घरमा पालेको कुकुर भने दिनहुँ अस्पताल धाइनै रह्यो।
आफूहरुले हरेकपटक कुकुरलाई घर फिर्ता ल्याउँदा पनि कुकुर भागेर अस्पतालको गेट अगाडी कुरेर बसेको सेन्टुरकका पारिवारिक सदस्यहरुले बताए। अस्पतालका अन्तर्राष्ट्रिय बिरामी केन्द्र निर्देशक मुरात इर्कन पनि सेन्टुरक डिस्चार्ज नभएसम्म कुकुरले अस्पताल आउन नछाडेको बताउँछन्।
“सेन्टुरकको कुकुर ‘बोनकुक’ले उनलाई अस्पताल ल्याउँदा पछ्याएकी रहिछ। सेन्टुरक अस्पताल रहुन्जेल हरेक दिन उ अस्पताल आइरही। एक दिन पनि उसले अस्पताल आउन छुटाइन”,अस्पतालका अन्तर्राष्ट्रिय बिरामी केन्द्र निर्देशक मुरात इर्कनले भने।
९ वर्ष देखिको सम्बन्ध
बोनकुक ९ वर्ष देखि आफूहरुसँग रहेको सेन्टुरकका पारिवारिक सदस्यहरु बताउँछन्। पछिल्ला ९ वर्षमा वृद्ध सेन्टुरकको साथि बोनकुक बनेको उनीहरुको भनाई छ। अस्पतालमा रहँद आफूले पनि बोनकुकलाई धेरै ‘मिस’ गरेको सेन्टुरकले बताए।