“कोरोनाविरुद्धको खोप लगाएका व्यक्तिबाट समेत कोरोना संक्रमण फैलिन सक्ने”

बेलायत – कोभिड–१९ विरुद्धको खोप लगाएका व्यक्तिले अरूलाई कोरोना भाइरस सार्न सक्ने हुँदा लकडाउनका नियमहरू पालना गर्न आवश्यक रहेको बेलायत एक वरिष्ठ स्वास्थ्य अधिकारीले चेतावनी दिएका छन् । आइतबार टेलिग्राफ पत्रिकामा लेख्दै डेपुटी चिफ मेडिकल अफिसर पनि रहनुभएका प्राध्यापक जोनाथन भ्यान टामले वैज्ञानिकहरूलाई अझैसम्म भाइरस प्रसारमा खोपको प्रभावबारे थाहा नभएकोमा जोड दिनुभएको छ । यो समचर्स आजको नेपाल समाचारपत्रमा प्रकाशित छ।

उहाँले खोपले आशा जगाएको तर संक्रमणको दर चाँडै कम गरिनुपर्ने बताउँदै भन्नुभयो– ‘कुनै पनि खोप शतप्रतिशत प्रभावकारी देखिएको छैन। त्यसैले सुरक्षा हुन्छ नै भन्ने छैन ।’ खोप लगाएको दुईदेखि तीन हप्तासम्ममा भाइरसबाट संक्रमित हुन सक्ने सम्भावना रहनेमा उहाँले जोड दिनुभयो ।

वृद्ध मानिसहरूमा खोपको प्रभाव पूर्णरूपमा विकसित होस् भनेर कम्तीमा तीन हप्ताको समय दिँदा उत्तम हुने उहाँ बताउनुहुन्छ । ‘खोपको दुवै मात्रा प्राप्त गरिसकेको अवस्थामा समेत अरूलाई कोभिड–१९ सर्न सक्छ र यसले भाइरस फैलिने चक्रलाई निरन्तरता दिनेछ।’ –प्राध्यापक भ्यान टामले भन्नुभयो ।

यसै हप्ता वरिष्ठ चिकित्सकहरूले अधिकारीहरूलाई फाइजररबायोएन्टेकले विकास गरेको खोपका दुई मात्रा दिनका लागि तोकिएको समय सीमा घटाउन आग्रह गरेका थिए । बेलायतमा धेरै मानिसलाई खोपको पहिलो मात्रा दिनका लागि पहिलो मात्रा प्राप्त गरेको १२ हप्तासम्ममा दोस्रो मात्रा दिने गरी समय सीमा बढाइएको थियो ।

यसअघि पहिलो र दोस्रो खोप प्राप्त गर्नका लागि तीन हप्ताको समय सीमा तोकिएको थियो । तर ब्रिटिस मेडिकल एसोसिएसनले उक्त नीतिको औचित्य सिद्ध गर्न कठिन रहेको बताउँदै खोप दिने समयको अन्तराल ६ हप्तामा झारिनुपर्ने बताएको छ ।

प्रकाशित : सोमबार, माघ १२, २०७७०८:२५

संवैधानिक दायित्व प्रधानमन्त्रीमा हुँदैन? सरकार नचलाए राजीनामा!