एजेन्सी – बार्सिलोनाबाट एथ्लेटिको म्याड्रिड पुगेका लुइस स्वारेज उच्च लयमा देखिएका छन्। मन नहुँदा-नहुँदै बार्सिलोना छाड्नुपरे पनि स्वारेजले आफ्नो लय भने गुमाएका छैनन्। स्वारेज लगातार गोल गरिरहेका छन्।
स्वारेज आइतबार राति भ्यालेन्सिया विरुद्ध पनि गोल गर्न सफल भएका छन्। भ्यालेन्सियामाथि ३–१ को सहज जित हात पार्ने क्रममा स्वारेजले एक गोल गरे।
भ्यालेन्सिया विरुद्ध गोल गरेसँगै स्वारेज ला-लिगाको जारी सिजनमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन्। सेभियाका युस्सेफ इन न्यास्रीसँगै स्वारेज सर्वाधिक गोलकर्ताको प्रथम स्थानमा छन्।
स्वारेज र युस्सेफको समान १२ गोल छ। यधपी युस्सेफले १२ गोल १९ खेलबाट गरेका हुन् भने स्वारेजले १२ गोल मात्रै १५ खेलमा गरेका छन्। आइतबार रातिको खेल पश्चात बार्सिलोनाका लियोनेल मेस्सीलाई स्वारेजले उछिनेका छन्। जारी सिजनमा मेस्सीले १७ खेलबाट ११ गोल गरेका छन्।
रोनाल्डोको लयमा स्वारेज
एउटा क्लब छाडेर अर्को क्लबमा गएको अवस्थामा धेरै जस्ता खेलाडीहरु आफ्नो लय कायम राख्न असमर्थ हुने गर्छन्। तर, त्यस मामलामा क्रिस्टियानो रोनाल्डो भने अपवाद मानिन्छन्।
रोनाल्डोले म्यानचेस्टर युनाइटेडबाट रियल म्याड्रिड आएपछि पहिलो सिजनको १५ खेलमै १३ गोल गरेका थिए। क्लब परिवर्तन गरेर आएका खेलाडीले लालिगामा रोनाल्डोले जति गोल कुनै पनि खेलाडीले गर्न सकेका थिएनन्।
यता स्वारेजको लय पनि उस्तै देखिएको छ। बार्सिलोना छाडेर एथ्लेटिको पुगेपनि उनी रोनाल्डोकै लयमा देखिएको छन्।
बार्सिलोनालाई झड्का
स्वारेजलाई बार्सिलोनाले बढ्दो उमेरका कारण एथ्लेटिको पठाएको थियो। बार्सिलोनामै रहन बल गरेपनि स्वारेजलाई क्लबले सस्तैमा एथ्लेटिको पठाइदिएको थियो। क्लब परिवर्तन भएपश्चात पनि सुआरेजले लगातार उत्कृष्ट प्रदर्शन गरिरहेका छन्।
स्वारेजको प्रदर्शन देख्दा अहिले बार्सिलोनाको निर्णय गलत सावित भएको टिप्पणी हुने गरेको छ।