जता अध्यक्ष पायो त्यति जाने भन्दै आएको समाचार बारे बामदेवको यस्तो स्पष्टिकरण !

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अनौपचारिक विभाजनपछि तेस्रो खेमाका रुपमा उभिनु भएका बामदेव गौतमले आजबाट एकता अभियान सञ्चालन गर्ने भएका छन् ।

गौतमले बुधबार पार्टी एकता राष्ट्रिय अभियानको घोषणा गर्न लागेको उनको सचिवालयले जनाएको छ । गौतमका प्रेस संयोजक विश्वमणि सुवेदीले एक विज्ञप्ति जारी गर्दै बुधबारबाट एकता अभियान सुरु हुने जानकारी गराएका छन्।

‘पार्टी कार्यकर्ताको ठूलो पंक्ति अहिले पनि विभाजन नहोस् भन्ने पक्षमा छ । त्यही माग र चाहनालाई सम्बोधन गर्न हामीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकता राष्ट्रिय अभियान सञ्चालन गरिरहेका छौं’, गौतमका प्रेस संयोजक विश्वमणि सुवेदीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘पहिले एकतामा आउन नसकेका र छरिएर रहेका विभिन्न कम्युनिष्ट तथा वाम–प्रगतिशील समूह एवं व्यक्तिहरुलाई पनि यो अभियानमार्फत् एकतावद्ध गर्ने उद्देश्य राखिएको छ ।’

साथै बामदेवको निजि सचिवालयले बामदेव अध्यक्ष बन्ने भनी आएको समाचारको पनि खण्डन गरेको छ। राष्ट्रिय समाचार समितिले गलत समाचार लेखेर विभिन्न सन्चार माध्यमलाई उपलब्ध गराएको गौतमको निजि सचिवालयको भनाई छ ।

“क.वामदेव गौतम पार्टी एकताका निम्ति आफूसँग भएका पदहरु गुमाउन वा कसैका निम्ति छोडिदिन पनि तयार हुनुहुन्छ । किनभने, पार्टीको एकता आम नेपालीको चाहना हो । मुलुकको विकास, सुशासन र समृद्धिका लागि पार्टी एकता अनिवार्य छ । त्यस्तो अनिवार्यतावोध गर्ने नेताले ‘मलाई यो पद दिए त्यो समूहमा जान्छु’ भन्ने जस्ता अभिव्यक्ति दिँदैन भन्ने कुरा जिम्मेवार सञ्चारकर्मी तथा आम जनसमुदायले साथीहरुले बुझ्नु हुनेछ भन्ने विश्वास लिएका छौँ ।”,जारी विज्ञप्तिमा भनिएको छ।

प्रकाशित : बुधबार, माघ १४, २०७७०८:०६

जुम्लाको गोठीगाउँमा २५ घर जलेर नष्ट!