पार्टी जोगाउन ओलीले राजिनामा नदिएकोमा बामदेवको गुनासो !

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता बामदेव गौतमले विभाजित नेकपाको कुनै पनि पक्षमा नलाग्ने स्पष्ट पारेका छन्। बुधबारबाट पार्टी एकता राष्ट्रिय अभियान घोषणा गरेका गौतमले आफू कुनै पनि पक्षमा नलाग्ने स्पष्ट पारेका हुन्।

ललितपुरमा बुधबार पार्टी एकता राष्ट्रिय अभियान घोषणा कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा नेता गौतमले आफू दुवै समूहमा नलाग्ने घोषणा गरे। पार्टी एकता नै आफ्नो मूख्य प्राथमिकतामा रहने स्पष्ट पारे।

नेता गौतमले आफूहरुले नयाँ पार्टी बनाउन नलागेको पनि स्पष्ट पारेका छन्। बाहिर बामदेवले नयाँ पार्टी घोषणा गर्न लागेको भनेर चर्चा गरिएको विषयमा बोल्दै उनले आफू नयाँ नबनाउने बताए।

आफ्नो अभियानलाई दुवै पक्षका नेता तथा कार्यकर्ताले साथ दिने पनि नेता गौतमले बताएका छन्। ओली र प्रचण्ड दुवै पक्षका कार्यकर्ता अभियानमा सहभागी भएको खण्डमा नेकाप फुट्नबाट बच्न सक्ने उनको भनाई छ।

त्यस्तै नेता गौतमले पार्टी विभाजित हुनुमा पुष्पकमल दाहाल प्रचण्ड र केपी शर्मा ओली दुवै बराबर दोषी रहेको पनि बताए। पार्टी वर्तमान अवस्थामा पुगेका बारे तराजुमा राखेर हिसाब गर्दा प्रचण्ड र ओलीको बराबरी भूमिका देखिएको गौतमको भनाई छ।

“पुस ५ गते एउटाले अविश्वास प्रस्ताव राखेर प्रधानमन्त्री हटाउने र विकल्पमा प्रधानमन्त्री हुने, अर्कोले तिमीले बहुमत पुर्‍याउन अनेक गर्दैछौ, त्यसो गरे प्रतिनिधिसभा भंग गरिदिन्छु भनेर अनेक पटक सांकेतिक भाषामा भनिरहनुभएको थियो अचानक भंग गरिदिनुभयो।”,उनले भने,”पार्टी विभाजनमा कसैको बढी कसैको घटी भूमिका देख्दिन ।संसद विघटनको क्षति अर्को पक्ष हो भयो, तर पार्टी विभाजन हुनको निम्ति दुबै नेताको बराबरी भूमिका छ, एउटाको बढी अर्कोको घटी छैन ।”

यस्तै गौतमले प्रतिनिधिसभा भंग नगरी राजीनामा दिएको भए प्रधानमन्त्री केपी शर्मा ओलीको शान हुन्थ्यो भनेर पनि टिप्पणी गरेका छन्। पार्टी एकताका लागि ओलीले राजिनामा दिएको भए ओलीको शान बढेको हुने थियो भने गौतमले टिप्पणी गरे।

“पार्टी फुटे फुट्छ भनेर प्रतिनिधिसभा भंग गरियो, प्रतिनिधिसभा भंग नगरी राजीनामा दिएर राष्ट्रपतिकोमा गएको भए के हुन्थ्यो केपी ओलीको शान ?”,उनले भने।

प्रकाशित : बुधबार, माघ १४, २०७७१३:५३

कोरोना खोप लगाएका भन्छन् – सुरक्षित छ, ढुक्क भएर लगाउनुहोस्