नेकपामा देखियो तेश्रो धार, एकता अभियानका नाममा पार्टीकै स्वरूप !

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमले ‘पार्टी एकता राष्ट्रिय अभियान’का नाममा पार्टीकै स्वरूपको संरचना खडा गरेका छन् । विभाजित दुवै समूह(प्रचण्ड–माधव र ओली समूह) लाई एक ठाउँमा ल्याउन दबाब दिने उदेश्य लिएको गौतम नेतृत्वको तेश्रो धारको बुधबार काठमाडौंमा घोषणा गरिएको हो । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।

विभाजित नेकपालाई मिलाउने मुख्य उदेश्य भए पनि अन्य कम्युनिष्ट घटकलाई पनि यो समूहमा समाहित गर्न सकिने एकता अभियानको घोषणापत्रमा उल्लेख छ । नेपालमा ठूला दुई कम्युनिष्ट पार्टी मिल्दा संसारमै कम्युनिष्टहरू हौसिएको बताउँदै गौतमले कम्युनिष्ट भन्दा घृणानै गर्ने अमेरिकामासमेत कम्युनिष्ट पार्टी जुर्मुराउन थालेको उल्लेख गरे । वचनमा र घोषणापत्रमा पनि नेकपाका विभाजित दुवै समूहलाई उत्तिकै दोषारोपण गरेका गौतमले अन्य विषयमा एकीकृत हुँदा प्रचण्ड समूहले स्वीकार नगरेको जनताको बहुदलिय जनवादलाई मार्गदर्शक सिद्धान्त मानेका छन् ।

एकता अभियानको घोषणापत्रमा गौतमले नेकपा विभाजन हुनुमा दुवै पक्ष उत्तिकै दोषी रहेको उल्लेख गरे पनि पहिलो गल्ती प्रचण्ड– माधव समूहले गरेको र प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले एकता बचाउन त्याग गर्नुको सट्टा फुटे फुटोस भन्ने रणनीति लिएको बताएका छन् । पार्टी फुटाउन प्रचण्ड–माधवले अविश्वास प्रस्ताव ल्याएको र ओलीले एकता जोगाउन प्रधानमन्त्री पदबाट राजीनामा दिनुको सट्टा फुटे फुटोस् भनेर प्रतिनिधिसभा विघटन गरेको गौतमको आरोप छ । नेकपा यसरी विभाजन हुनुमा दुई अध्यक्ष्यतात्मक प्रणालीनै मुख्य कारक रहेको गौतमको ठम्याई छ ।

एकता अभियानको नाम दिए पनि गौतमको घोषणापत्र छुट्टै पार्टीको अभ्यास गर्न खोजेको त होइन ? भन्ने आभास दिएको छ । एकता अभियानका नाममा गौतमले वडा तहसम्म सांगठनिक संरचना तयार गर्न खोजेको प्रष्ट छ । विशुद्ध पार्टी एकता अभियान भए यसअघिकै नेकपाको विधान र घोषणापत्रमा प्रचण्ड पक्षले अस्वीकार गरेको जनताको बहुदलिय जनवाद मार्गदर्शक सिद्धान्तमा उल्लेख नहुनु पर्ने कतिपयको तर्क छ । गौतमको यो अभियानलाई सार्थक पार्न नेकपाका कार्यकर्ता आकर्षित भएमा प्रचण्ड होइन ओली समूह रित्तिने एकथरीको बुझाइछ ।

गौतमको एकता अभियानमा पूर्वएमालेको नीति, विचार र सांंगठकिन संरचनामा धेरै मिल्दोजुल्दो छ । मार्ग दर्शक सिद्धान्तमा जनताको बहुदलिय जनवाद राखेर गौतमले पूर्वएमालेका कार्यकर्ता आकर्षित गर्न खोजेको देखिन्छ । पूर्व नेकपा(एकताकेन्द्र) का नेतादेखि कार्यकर्तासम्मले बहुदलिय जनवादलाई अस्वीकार गरेकै कारण नेकपाको विधानमा समेटन सकिएको थिएन ।

प्रचण्ड नेतृत्वको पूर्वनेकपा (एकताकेन्द्र)मा एक्काइसौं सदाब्दीको जनवादलाई मार्गदर्शक सिद्धान्त उल्लेख थियो । यसकारण गौतमको एकता अभियानमा कार्यकर्ता आकर्षित भए पनि पूर्वएमालेका हुने र प्रचण्ड नेतृत्वको पूर्व पार्टीका कसैलाई यसले आकर्षित नगर्ने हुँदा ओली पक्ष रित्तो हुने, प्रचण्डसंग पूर्वएकताकेन्द्रका कार्यकर्ता रहिरहने हुन्छ । यद्यपी गौतमले घोषणासभामा प्रचण्ड र आली दुवैलाई एक्लाएक्लै बनाइदिने उद्घोष गरेका छन् ।

प्रकाशित : बिहिबार, माघ १५, २०७७०८:०९

प्रदुषण नियन्त्रणको नाममा ११ अर्ब असुली, तर कहाँ खर्च भयो ?