काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले विभाजित नेकपाको एक खेमाको नेतृत्व गरिरहेका पुष्पकमल दाहाल प्रचण्ड माथि कटाक्ष गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपतिमा पुगेर दर्शन गरेको विषयसँग प्रचण्डले भैंसी पूजा गरेको फोटो जोडेर प्रचण्ड माथि कटाक्ष गरेका हुन्।
पशुपति पुगेर पूजाका अलावा ओलीले चलिरहेको निर्माण कार्यका लागि आर्थिक बजेट समेत उपलब्ध गराएको भन्दै थापाले त्यसलाई अस्वाभाविक मान्न नहुने बताएका छन्।
दैनिक हजारौं जनता श्रद्धाका साथ पूजाआजामा जाने पशुपतिनाथ मन्दिरमा पुगेर ओलीले गरेका कार्यको सर्वत्र प्रशंसा भएकाे दावी पनि थापाले गरेका छन् ।
“धानमन्त्री एवं पशुपति विकास कोषका संरक्षक केपी शर्मा ओलीले माघ १२ गते बिहान ८:३० बजे श्री पशुपतिनाथ मन्दिरको भ्रमण, निर्माणकार्यको निरीक्षण एवं विशेष पूजा र दीप प्रज्वलन गर्नुभयो। सुनको जलारी निर्माणको मन्दिरको योजनामा जम्मा रहेको ६५ करोड बजेटमा सरकारका तर्फबाट ३० करोड उपलब्ध गराउने प्रतिबद्धताको घोषणा गर्नुभयो।”,थापाले फेसबुकमा लेखेका छन्,”पहिले पित्तल र तामाकाे जलारी रहेकाेमा अब १४१ किलाे सुनकाे जलारी निर्माणकाे सुनिश्चितता भएको छ । दैनिक हजारौं जनता श्रद्धाका साथ पूजाआजामा जाने पशुपतिनाथ मन्दिरमा उहाँकाे यस कार्यकाे सर्वत्र प्रशंसा भएकाे छ ।”
प्रधानमन्त्रीले पशुपतिनाथको दर्शन गरेको तस्विरसंग प्रचण्डले भैंसी पूजा गरेको तस्विर जोड्दै थापाले ओलीको कदमलाई स्वाभाविक नै मानिने बताएका छन्।
थापा फेसबुकमा थप लेख्छन्,”पुष्पकमल दाहाल”प्रचण्ड”ले आफ्नो शक्ति वृद्धिका खातिर सायद सुनसरीमा भैंसी पूजा गर्नुभएको थियो! भैंसी पूजा गर्नुलाई पशुपतिनाथ मन्दिरमा पुगेर विश्व शान्ति र मानव कल्याणको लागि पूजा गर्नुजस्तो स्वभाविक मानिंदैन। बुझ्ने आआफ्नै स्तर हुन्छ। फरकचाहिं यत्ति हो!”