गत आइतबार भारतको उत्तराखण्ड राज्यमा १९ वर्षीया सृष्टि गोस्वामी मुख्यमन्त्री बनेकी थिइन्। सृष्टि गोस्वामी एक दिनको लागि मात्रै मुख्यमन्त्रि बनेकी हुन् । राष्ट्रिय बालिका दिवसको अवसरमा सृष्टिलाई मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावतको स्वीकृतिमा मुख्यमन्त्री बनाइएको थियो।
हरिद्वारकी सृष्टि गोस्वामीले एकदिनको मुख्यमन्त्रीको कार्यकालमा निकै महत्वपूर्ण कार्य गरेकी छिन् । मुख्यमन्त्री सृष्टिलाई उच्च शिक्षा मन्त्री धनसिंह रावतले विधानसभा भवनमा स्वागत गरेका थिए। देशका बालिकालाई सशक्त बनाउन र बालिकाले पनि जस्तोसुकै जिम्मेवारी निर्वाह गर्न सक्छन भन्ने सन्देश दिन १९ वर्षीया सृष्टि गोस्वामीलाई मुख्यमन्त्री बनाएको रावतले बताए।
मुख्यमन्त्री सृष्टिले एक दिनमा करिब १२ वटा विभागका अधिकारीसँग बैठक गरिन् र विभिन्न कार्यका लागि विभिन्न विभागका अधिकारीलाई निर्देशन दिइन् । प्रदेशमा रहेका भत्किएका पुलहरुको मर्मत गर्न आदेश दिइन् । त्यसपछि १२ बजेदेखि ३ बजेसम्म विधानसभा भवनमा समीक्षा बैठकको अध्यक्षता गरिन र ३ बजे बालिका निकेतनको निरीक्षण गरि बालिकाहरुसँग दिउँसोको नास्ता खाइन् ।